हाम्रो अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी हुन् — सांसद अधिकारी
arthasansar.com · Thu Sep 17 09:34:37 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले भोटेकोशी बाढीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रतिनिधिसभाबाट ‘आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव’ पारित गर्न माग गरेकी छिन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्ले क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणसँगै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग तत्काल विशेष कार्यक्रम अघि बढाउन जोडदार आग्रह गरिन्।
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण, बिमा दाबीको शीघ्र फर्छ्योट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण र नीतिगत सहजीकरणसहित विशेष आर्थिक राहत प्याकेज ल्याउन सरकारले ढिला गर्न नहुने उनको भनाइ थियो । भोटेकोशी बाढीले रणनीतिक सडक तथा उत्तरी नाकाहरू अवरुद्ध हुँदा आपूर्ति शृङ्खलामा समेत असर परेको भन्दै उनले सडक पूर्वाधारका अवरोध तत्काल हटाउनुपर्ने बताइन् । त्यसका लागि आवश्यक परे चौबीसै घण्टा तीन सिफ्टमा काम गर्नुपर्ने अधिकारीले उल्लेख गरिन् । नीतिगत झन्झट तथा कानुनी र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न तत्काल निर्णय गर्न सक्ने अधिकारसम्पन्न ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउनुपर्ने उनले बताइन् । सांसद् अधिकारीले निजी क्षेत्रलाई ‘अर्थतन्त्रको कूल देवता’ को संज्ञा दिँदै स्वदेशी उद्यमी ढुक्क नभएसम्म अर्थतन्त्र चलायमान नहुने तथा विदेशी लगानी आउन नसक्ने स्पष्ट गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)