मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२ लाख १० हजार क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

ratopati.com · Mon Jun 01 15:16:26 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले २१ हजार ६४ पत्ता ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ स्थित कमेरेटारबाट दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले रातोपाटीलाई बताए।

बरामद पत्ता २ लाख १० हजार ६४० क्याप्सुल हुन्छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–५ घर भएर भक्तपुर बस्ने ४१ वर्षीय विरध्वज तामाङ र काभ्रेको कोशीपारी गाउँपालिका–१ घर भएर ललितपुर बस्ने ३८ वर्षीय सान्तबहादुर तामाङ छन् ।

जेठ १२ गते पक्राउ परेका बिरध्वजको बयानको आधारमा ठुलो परिमाणमा ट्रामाडोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

आरोपीहरूले लुकाएर राखेको अवस्थामा ललितपुरको गोदावरी नगरपालिका–२ स्थित बिशंखुनारायण मन्दिर नजिकै पत्करले छोपेर राखेको अवस्थामा ६ वटा बोरा र दुई वटा कार्टुनमा ट्रामाडोल भेटिएको थियो ।

पत्करले छोपेर लागुऔषध लुकाउने शान्तबहादुर तामाङ ट्याक्सी चालक हुन् । उनलाई सोमबार पक्राउ गरिएको डीआईजी भट्टले जानकारी दिए । आरोपीहरूमाथि थप अनुसन्धान गर्न सशस्त्रले स्थानीय प्रहरीलाई जिम्मा लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय