मोडल र युवतीहरुको फेक अकाउन्ट बनाएर यस्तो धन्दा, राजधानीबाट समातिए १५ जना बंगलादेशी
lokaantar.com

काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेलको पकनाजोलस्थित एक होटलबाट पक्राउ गरेको हो।
भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जेठ १५ गते उक्त होटलमा छापा मारेको थियो। अनुसन्धानका क्रममा उनीहरूले होटलको चौथो, पाँचौ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिई संगठित रूपमा अवैध धन्दा चलाइरहेको फेला परेको कार्यालयले सोमबार जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले विदेशी मोडल तथा युवतीहरूको तस्बिर प्रयोग गरी फेसबुकमा नक्कली (फेक) अकाउन्टहरू बनाउने गरेका थिए।
ती नक्कली अकाउन्टमार्फत उनीहरूले विशेषगरी बंगलादेशी र भारतीय नागरिकहरूलाई लक्षित गरी साथी बनाउने, कुराकानी गर्ने र पछि विभिन्न प्रलोभनमा पारेर वा ब्ल्याकमेल गरेर रकम असुल्ने गरेको खुलेको छ।
पक्राउ पर्नेहरूमा १९ देखि ३० वर्ष उमेर समूहका १५ जना बंगलादेशी पुरुषहरू रहेका छन्। पक्राउ पर्नेमा एमडि मजिदुल इस्लाम रेडोय, सफिउल इस्लाम, अपोन चन्दा साहा, अब्दुल्लाह अल जोबायेर, अबुल हसनाई, अल साहरियार, फैसल, आजाद हुसेन, एमडि अजमेन, एमडि तामिम हसन सौरभ, एमडि जकारिया जन्नत, सकिल अनवर, हरजोत बिल्लाल राफत, ओमित हसन सेकात र एमडि इस्लाम हसन स्वाधिन रहेका छन्।
पक्राउ परेका सबै बंगलादेशी नागरिकहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँको कालिकास्थानस्थित अध्यागमन विभागमा पठाइएको छ। उनीहरूमाथि अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
नेपाल प्रहरी