विष्णु र सविताको हत्या कि आत्महत्या ?
rajdhanidaily.com · Tue Jun 29 23:33:29 GMT 2021
अप्रत्यासित रूपमा हुने मृत्युका अधिकांश घटना पछिल्लो समयमा विवादास्पद बन्दै आएका छन् । मृत्युको सन्दर्भमा देखापर्ने कतिपय मास गतिविधि पनि विशुद्ध अपराध र अपराधीविरुद्ध भन्दा सत्ता र विपक्षको दलीय एवं समूहगत स्वार्थ र खिचातानीमै आधारित बन्ने क्रम पनि बढ्दै आएको छ । स्वाभाविक मृत्युलाई अस्वाभाविक ठान्ने, आत्महत्यालाई कर्तव्य मान्ने, कर्तव्यलाई आत्महत्यामा परिणत गराई फाइदा लिने समूहगत स्वार्थले अनुसन्धानलाई प्रभावित बनाए पनि तथ्यलाई प्रभावित बनाउन सक्दैन । तथापि, यस्तो गतिविधिले सर्वसाधारणमा भने आक्रोश र कौतुहलता जगाइदिन्छ । यसैले सस्तो लोकप्रियताका लागि मात्र होइन घटनाको यथार्थताको जड पहिल्याई, वास्तविकता लोप गराउने प्रयत्न भएको अवस्थामा भने समाजले मौन नबसी खबरदारी गर्नै पर्छ । घटनाको तथ्य पहिचान गर्ने, कसुरदारलाई दण्डित गराउने, निर्दोषलाई उन्मुक्ति दिलाउने तथा पीडितलाई कानुनी प्रक्रियाबाटै राहत प्रदान गराउने दायित्व सर्वसाधारण सबैको हो । यही सन्दर्भको विवादास्पद बनेको पछिल्लो चर्चित घटना चितवनको रामपुर निवासी सविता भण्डारी धिताल र रूपन्देहीको सैनामैना निवासी विष्णु बराल भट्टराईको मृत्युको घटना हो । यसमध्ये विष्णु बरालको केस अहिले अनुसन्धानकै क्रममा छ भने सविता भण्डारीको मुद्दा नै अदालतमा पुगिसकेपछि देखिएको पछिल्लो मास गतिविधिले देख्ने सुन्नेमा कौतुहलता जगाए पनि अन्त्य भइसकेको अनुसन्धानको अवस्थालाई परिवर्तन गर्न सक्दैन । रहस्यमय देखिएको दुवै घटनाको प्रहरी अनुसन्धानले घटना विवरणलाई समेट्यो समेटेन ? भन्ने कुरा नै बढी महŒवपूर्ण हुने भएकाले त्यसका निम्ति पुनः हामीले घटनाको परिदृश्यलाई नै स्मरण गर्नुपर्नेहुन्छ ।
सविता भण्डारी र विष्णु बरालको मृत्यु अस्वाभाविक हो भन्ने कुरा त स्वतः स्पष्ट भइसकेको छ । अस्वाभाविकता पनि कर्तव्यसँग सम्बन्धित हो वा आत्महत्यामा भन्ने कुरो नै अहिले विवादको मुख्य विषय बन्दै बनाइएको छ । वास्तवमा मृत्यु आत्महत्या वा कर्तव्य के हो ? भन्ने कुरा घटनाको यथाअवस्थाले नै बताउँछ मासले बताइरहनै पर्दैन । घटनाको यथार्थता अनुसन्धानको प्रारम्भिक चरणमा देखिने भएकाले त्यो स्थानीय समाज तथा सम्बद्ध पक्षले नै देख्यो देखेन ? भन्ने कुरा अनुसन्धानमा विशेष महŒवपूर्ण मानिन्छ । अप्रत्यासित रूपमा हुने मृत्युको घटना प्रारम्भमै त्यसै पनि चर्चित बन्छ । सम्बद्ध परिवार छरछिमेकी, स्थानीय भद्रभदालमी र अनुसन्धान अधिकृतको टोली घटनास्थलमा तत्कालै पुगेको थियो भन्ने कुरा पनि प्रारम्भिक अनुसन्धानकै क्रममा पुष्टि भएको हुन्छ । कानुनले ज्यान केसको अनुसन्धान सर्वपक्षीय उपस्थितिमा घटनास्थलबाटै प्रारम्भ गर्नुपर्ने व्यवस्था गर्नुको आशय पनि घटनाबारेमा सबैलाई जानकारी होस् भन्ने नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)