अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ
gorkhapatraonline.com · Thu Sep 17 12:43:38 GMT 2026

अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका-२ आँपटारीबाट पक्राउ गरेको हो ।
प्रहरीले उनका साथबाट मोबाइल २६ थान, ल्यापटप दुई थान, सिमकार्ड ९५ थान, सिपियु चार थान, इन्भर्टर एक थान, ब्याट्री दुई थान, युएसबी ६ थान, राउटर दुई थान, विभिन्न प्रकारका डेटा केबुललगायत सामान पनि बरामद गरेको छ । ती उपकरण तथा सामग्री अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी)मा प्रयोग गरिएको भन्ने खुल्न आएको केन्द्रीय समाचार कक्षले जनाएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)