रिहा हुन लामिछानेद्वारा २ करोड ७४ लाख बैंक ग्यारेन्टी पेस, मिर्गौला तस्करी गर्ने गिरोह फन्दामा
lokaantar.com

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न शुक्रबार सूचना जारी गरेको हो।
००००
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा केही नेपाली पनि बेपत्ता भएको आशंका गरिएको छ । बाढीमा कम्तिमा १७ नेपाली बेपत्ता भएको आशंका छ । यद्यपि, बेपत्ताहरूको संख्या यकिन भने भएको छैन ।
जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति नै जारी गरेर कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको जानकारी दिएका हुन् । अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा नआएको उनको भनाइ छ ।
००००
एक महिने सांगीतिक यात्राको लागि क्यानडा जान लागेका गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका छन्।
उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रि प्रतीक्षालयबाटै फर्किएर अस्पताल भर्ना भएका हुन् ।
००००
न्याय परिषद्को बिहीबारको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ ।
परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासमा नियुक्त गरी पदस्थापन गरेको हो ।
००००
कोशी प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री सडान्नद मण्डलमाथि कडा प्रहार गरे ।
००००
आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ९ जनाले आवेदन भरेका छन् ।
रास्वपाले आह्वान गरेको अनलाइन आवेदनमा ९ जनाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका हुन् । रास्वापा निर्वाचन आयोगले अनलाइनमार्फत् दर्ता गरी सदर भएका आकांक्षीको नाम बिहीबार सार्वजनिक र्गयो । रोचक कुरा चाहिँ यसरी आवेदन दिनेमा अधिकांश स्थानीय उम्मेदवार छन् । एक जना मात्र जिल्ला बाहिरका छन् ।
रास्वपाले सार्वजनिक गरेको नामावली अनुसार आकांक्षीमध्ये ६ जना भैरहवाका, दुई जना बुटवलका र एक भक्तपुरका छन् । हाल भक्तपुर भएपनि उनको माइती भने भैरहवामा नै हो । उम्मेदवार आकांक्षीमध्ये ५ जना पुरुष र चार जना महिला छन् ।
००००
कोशी प्रदेशसभाको बिहीबारको बैठकमा गैरसरकारी विधेयकका रुपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ ।
००००
नेपालबाट भारतको दिल्लीमा मिर्गौला तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढीका समीर नेपाली र राकेश नेपाली छन् ।
यो गिरोहले विगत पाँच वर्षदेखि नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेका सर्वसाधारणलाई आर्थिक प्रभावमा पारेर मिर्गौला बिक्रीका लागि दिल्ली लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले डेढ महिना लामो अनुसन्धानपछि परियार र नेपालीद्वयलाई सप्रमाण नियन्त्रणमा लिएको हो ।
यो गिरोहले नेपाली सर्वसाधारणलाई शुरूमा भारतमा होटलमा काम गर्दा मासिक कमाई १० देखि २० हजार भारतीय रूपैयाँ आम्दानी हुने भन्दै बुटवल भैरहवा हुँदै सुनौली सीमा पार गराएर दिल्ली र्पुयाई मिर्गौला बेच्न प्रोत्साहन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
००००
नेकपा एमालेले पार्टीबाट निकालेपछि पुस १७ गते ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका भीम रावल त्यसयता गुमनाम जस्तै बनेका छन् । सात महिनाअघि उनले अभियान मात्रै घोषणा गरेका थिए । केही समयमा आधार निर्माण गरेर पार्टी घोषणा गर्ने उनको भनाइ थियो । अभियान घोषणाका क्रममा विभिन्न उद्देश्य अगाडि सारेका थिए ।
००००
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन् ।
लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतका अनुसार बिगो बमोजिमको रकम २ करोड ७४ लाख ८४ हजार रूपैयाँको प्रभु बैंकको बैंक ग्यारेन्टी समेत लामिछानेले निवेदन साथ बुझाएका छन् ।
००००
विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो महिला वरीयतामा नेपालले ठूलो फड्को मारेको छ । बिहीबार जारी नयाँ वरीयतामा नेपाल विगतको तुलनामा एकैपटक १३ स्थान माथि उक्लिएको हो ।
००००
साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको हो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १.९ अंकले घटेर २८३२.०६ को विन्दुमा बन्द भएको थियो ।
००००
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
००००
निर्वाचन आयोगले ल्याउन लागेको राजनीतिक दलको ‘स्वमूल्यांकन कार्यविधि’प्रति सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि असहमति जनाएको छ ।
एमालेको निर्वाचन विभागका प्रमुख निरज आचार्यले स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको उल्लेख गर्दै आयोगको कदमप्रति असहमति जनाएका हुन् । यसमा माओवादीसहितका दलहरुले पनि असहमति जनाएका छन् ।
००००
भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला अगष्ट १७ अर्थात् आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)