म्याद थपबिना आयोजना सम्पन्न नहुने प्रवृत्ति झाँगिदै
gorkhapatraonline.com · Mon Jun 01 23:40:21 GMT 2026

मुलुकको पूर्वाधार विकासमा ‘म्याद थप’ (टाइम एक्सटेन्सन) एउटा गम्भीर प्रवृत्तिका रूपमा विकसित भएको छ । आयोजना र म्याद थप एक अर्काका पूरक जस्तै बन्दै गएका छन् । बिनाम्याद थप कुनै पनि आयोजना सम्पन्न हुन सक्दैन भन्ने भाष्य स्थापित भइसकेको छ । केही सानातिना स्थानीय पूर्वाधारबाहेक म्याद थप नगरी कुनै आयोजना सम्पन्न भएको देखिँदैन ।
म्याद थपले परियोजनाको लागत बढाउने, गुणस्तर घटाउने र समग्र आर्थिक वृद्धिमै बाधा पु¥याइरहेको हुन्छ तर यसको ठिक उल्टो विकास आयोजना समयमै सम्पन्न हुँदा एकातिर लागत नियन्त्रणमा रहन्छ भने अर्कोतिर त्यसले आर्थिक गतिविधि चलायमान बनाउन मद्दत गर्छ । समयमै सम्पन्न नहुने र म्याद थपिरहनुपर्ने मुख्य कारणमा वन तथा वातावरणीय स्वीकृतिमा ढिलाइ, जग्गा अधिग्रहण विवाद, कमजोर ठेकेदार र सरकारी निकायबिचको समन्वय अभाव रहेको विश्व बैङ्कले औँल्याएको छ । म्याद थप्दै जाने प्रवृत्तिका कारण तोकिएको समयमा काम नसकिँदा आयोजनाको लागत अर्बौं रुपियाँसम्म बढ्ने, लामो समयसम्म काम अधुरो रहँदा संरचनाको गुणस्तर बिग्रँदै जानुका साथै सडक, पुल र जलविद्युत् जस्ता आयोजना समयमा नबन्दा मुलुकको समग्र आर्थिक विकासको गति अवरुद्ध हुने गर्छन् । त्यसै गरी पटक पटक म्याद थपले समयमा काम सम्पन्न गर्नुभन्दा आयोजनालाई लम्ब्याएर सम्बद्ध पक्षले अनुचित फाइदा लिने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)