महिला भलिबलको उपाधि मेरो डेण्टल होमलाई
gorkhapatraonline.com · Wed Dec 31 13:05:13 GMT 2025

आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले हात पारेको छ ।
बुधबार भएको फाइनल खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ०–३ को सेटमा पराजित गर्दै मेरो डेण्टल होमले उपाधि जितेको हो । पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको मेरो डेण्टल होमले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ ले जित्यो ।
उपाधि जितेको मेरो डेण्टल होमले ट्रफीसहित नगद ८१ हजार ५ सय रुपियाँ प्राप्त गर्यो भने उपविजेता नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले ट्रफीसहित नगद ४१ हजार ५ सय रुपियाँ हात पारेको छ ।
प्रतियोगितामा द सिल्भर प्यालेस बागलुङलाई पराजित गर्दै २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै निसी रिभर आइटिएफ बागलुङले तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गरेको निसीले ट्रफीसहित २१ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ । ।
यस्तै सान्त्वना स्थान प्राप्त गरेको द सिल्भर प्यालेसले ट्रफीसहित ११ हजार ५ सय रुपियाँमा चित्त प्राप्त गरेको छ । महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।
यस्तै, महोत्सवको अर्को आकर्षण गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता भोलि (बिहिबार) देखि सुरु हुने प्रतियोगिताका संयोजक अकिल बहादुर क्षेत्री (धुर्व) ले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगितामा १४ टिम सहभागी रहेको संयोजक क्षेत्रीले बताउनुभयो ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि सुरु भएको आठौँ बागलुङ महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारको प्रस्तुतिसहित राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, भलिबल प्रतियोगिता र अन्य कार्यक्रम सञ्चालन भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)