मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दरबार हत्याकाण्डको २५ औं वर्ष: 'राष्ट्रिय एकताका प्रतीक'को स्मृति दिवस

corporatenepal.com · Tue Jun 02 01:47:30 GMT 2026

काठमाडौं । नेपालको इतिहासमा गहिरो चोट पुर्‍याएको दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका अधिकांश सदस्यको निधन भएको थियो। एकै रातमा भएको यो दुःखद घटनाले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएको थियो।

दरबार हत्याकाण्ड नेपालको राजनीतिक, सामाजिक र ऐतिहासिक यात्राको एउटा निर्णायक मोडका रूपमा आज पनि स्मरण गरिन्छ। घटनापछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह नेपालको राजा बनेका थिए । त्यसपछिका वर्षहरूमा देशले राजनीतिक अस्थिरता, द्वन्द्वको विस्तार, जनआन्दोलन, राजनीतिक अस्थिरताजस्ता समस्याहरू हालसम्म पनि भोगिँदै आइएको छ ।

Advertisement

२५ वर्ष बितिसक्दा पनि दरबार हत्याकाण्ड नेपाली समाजमा चर्चा र चासोको विषय बनेको छ। घटनाबारे तत्कालीन छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरे पनि धेरै नागरिकका मनमा अझै अनेक प्रश्न र जिज्ञासा कायम छन्। यस कारण पनि दरबार हत्याकाण्ड नेपालको सबैभन्दा रहस्यमय घटनामध्ये एक मानिन्छ।

तत्कालीन राजा वीरेन्द्रलाई नेपाली जनतामाझ लोकप्रिय, शालीन र राष्ट्रप्रेमी राजाका रूपमा सम्झिने गरिन्छ। ग्रामीण भेगसम्म पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको शैलीले उनलाई आम नागरिकको नजिक पुर्‍याएको थियो। संवैधानिक राजतन्त्रको अभ्यास र राष्ट्रिय एकताको पक्षमा उनले खेलेको भूमिकालाई धेरैले सकारात्मक रूपमा स्मरण गर्ने गरेका छन् ।

२५औँ स्मृति दिवसका अवसरमा विभिन्न व्यक्तित्व, इतिहासकार तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। कतिपयले दरबार हत्याकाण्डलाई केवल एउटा पारिवारिक दुर्घटना नभई राष्ट्रको इतिहास परिवर्तन गर्ने घटना भएको टिप्पणी गरेका छन् । विश्लेषकहरूका अनुसार दरबार हत्याकाण्डले नेपालको राजनीतिक दिशालाई गहिरो प्रभाव पारेको थियो । घटनापछि उत्पन्न परिस्थितिले राजसंस्थाप्रतिको जनधारणा, राजनीतिक शक्ति सन्तुलन र राज्य व्यवस्थामै दीर्घकालीन असर पारेको मानिन्छ ।

आज, घटनाको २५ वर्ष पुगेका बेला नेपालीहरूले केवल एउटा दुःखद रातलाई मात्र सम्झिरहेका छैनन्, उनीहरू देशको इतिहासमा विशेष छाप छोडेका राजा वीरेन्द्र र दिवंगत राजपरिवारका सदस्यहरूको योगदानलाई पनि स्मरण गरिरहेका छन्। समय बित्दै गए पनि दरबार हत्याकाण्डको पीडा, त्यससँग जोडिएका प्रश्नहरू र राजा वीरेन्द्रको स्मृति नेपाली समाजमा अझै जीवित रहेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय