मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मालिकामा महिला स्वास्थ्यसम्बन्धी विशेषज्ञ शिविर

gorkhapatraonline.com · Tue Jun 02 01:55:44 GMT 2026

पश्चिम गुल्मीको मालिका गाउँपालिकाले महिला स्वास्थ्य सम्बन्धी विशेषज्ञ शिविर सञ्चालन गर्ने भएको छ। यस गाउँपालिकाले वडा नम्बर ४ स्थित अर्खावाङ्ग स्वास्थ्य चौकीमा दुई दिनसम्म महिला स्वास्थ्यसम्बन्धी निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।

ग्रामीण भेगका महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यहि जेठ २३ र २४ गते बिहान ९ देखि साँझ ५ बजेसम्म विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक खनालका अनुसार महिलाहरूमा देखिने विभिन्न स्वास्थ्य समस्याहरूको निःशुल्क परीक्षण तथा उपचार गरिनेछ। शिविरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूद्वारा महिलाहरूको समग्र स्वास्थ्य परीक्षण गरिने बताइएको छ।

शिविरमा मुख्य गरी पाठेघरको मुखको क्यान्सर तथा क्यान्सर पूर्व अवस्था जाँच, पाठेघर खस्ने समस्या (आङ खस्ने), महिनावारी अनियमित हुने, अत्यधिक वा कम रक्तश्राव हुने समस्याको उपचार गरिनेछ। यसका साथै तल्लो पेट तथा कम्मर दुख्ने, सेतो पानी बग्ने, पाठेघर तथा प्रजनन अङ्गको सङ्क्रमण, डिम्बाशयमा सिस्ट देखिने तथा पाठेघरमा मासु पलाउने जस्ता समस्या भएका महिलाहरूलाई लक्षित गरी सेवा प्रदान गरिनेछ। त्यस्तै, शिविरमा बाँझोपनसम्बन्धी समस्या तथा गर्भावस्थाका जटिलताहरूको पहिचान र परामर्श गरिनेछ।

शिविरमा आउने सेवाग्राहीहरूका लागि पाठेघरसम्बन्धी समस्या पहिचान गर्न भिडियो एक्स-रे सेवा, महिलाहरुको सुगर परीक्षण तथा आवश्यकता अनुसार दिसाको परीक्षण र औषधी वितरणको समेत व्यवस्था मिलाइएको छ। ग्रामीण भेगका महिलाहरूमा देखिने स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो। अधिकतम सेवाग्राही उपस्थित गराउन वडा कार्यालय र स्वास्थ्य चौकी तथा सरोकारवाला सबैलाई आग्रह गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय