मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्नायुविज्ञान प्रतिष्ठान अपरिहार्य

gorkhapatraonline.com · Tue Jun 02 02:05:04 GMT 2026

नेपाल आज एउटा गम्भीर तर लामो समयदेखि उपेक्षित स्वास्थ्य सङ्कटको चरणमा प्रवेश गरिरहेको छ । पछिल्ला वर्षमा स्नायुप्रणाली तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोग विशेषतः मस्तिष्कघात, मिर्गी, स्मृतिभ्रंश, पार्किन्सन रोग, डिप्रेसन, टाउकोमा चोटपटक तथा बालमस्तिष्क विकाससम्बन्धी समस्या तीव्र रूपमा बढिरहेका छन् । यति ठुलो चुनौती हुँदाहुँदै पनि नेपालमा यी विषयको अनुसन्धान, उपचार, नीति–निर्देशन र वैज्ञानिक समन्वयका लागि कुनै केन्द्रीय राष्ट्रिय संस्था स्थापना गरिएको छैन । राष्ट्रिय स्नायुविज्ञान प्रतिष्ठान स्थापना अब केवल शैक्षिक आवश्यकता मात्र नभई राष्ट्रिय आवश्यकता नै बनेको छ । नसर्ने रोगको भार निरन्तर बढिरहेको छ; जसमा स्नायुप्रणालीसँग सम्बन्धित रोगको हिस्सा महत्वपूर्ण बन्दै गएको छ ।

विश्वव्यापी रोगभारसम्बन्धी अध्ययनका अनुसार नेपालमा कुल मृत्युको करिब ७.६ प्रतिशत मस्तिष्कघातका कारण हुने गरेको छ । कुल अपाङ्गतासहित जीवनयापन गर्नु परेका वर्षहरूको करिब ३.५ प्रतिशत हिस्सा यसै रोगसँग सम्बन्धित छ । यसको अर्थ हजारौँ नेपालीले समयपूर्व मृत्यु मात्र होइन; दीर्घकालीन अपाङ्गता, मानसिक पीडा, आर्थिक भार तथा सामाजिक निर्भरता पनि भोगिरहेका छन् । नेपालमा मिर्गी, स्मृतिभ्रंश, पार्किन्सन रोग, स्नायु मांसपेशीसम्बन्धी रोग, मानसिक स्वास्थ्य समस्या तथा सडक दुर्घटनाबाट हुने मस्तिष्क चोटको भरपर्दो राष्ट्रिय तथ्याङ्कसमेत उपलब्ध छैन । हामीले रोग देखिरहेका छौँ तर तिनको वैज्ञानिक नक्सा तयार गरेका छैनौँ । हामीले बिरामीको उपचार गरिरहेका छौँ तर रोगको राष्ट्रिय रणनीति निर्माण गर्न सकेका छैनौँ । यो समस्या नेपालको मात्र होइन । दक्षिण एसियामा स्नायुप्रणाली तथा मानसिक स्वास्थ्यसम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)