विद्युतीय सवारीसाधनको क्षमता जाँच गर्ने मेसिन छैन: भन्सार विभाग
hamrakura.com · Fri Aug 08 00:00:00 GMT 2025
काठमाडौँ। भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारीसाधन (इभी) को क्षमता जाँच गर्ने मेसिन नेपालमा नभएको बताएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बेरुजुसम्बन्धी छलफलमा उनले यो समस्याका कारण प्रत्येक वर्ष बेरुजु बढेको जानकारी दिए।
महानिर्देशक भट्टराईका अनुसार, अहिले भन्सार विभागको बेरुजु २० अर्बभन्दा बढी छ। यसको मुख्य कारणमध्ये एक विद्युतीय सवारीमा सरकारले दिएको छुट र नेपालमै एसेम्बल गरिने गाडीमा दिइएको भन्सार सुविधा हो। उनले इभीको मोटर क्षमतामाथि प्रश्न उठ्दा पनि भन्सार विभागसँग त्यसलाई जाँच गर्ने उपकरण नभएको बताए।
उनका अनुसार, यसको जिम्मेवारी यातायात व्यवस्था विभागको भए पनि त्यहाँ पनि आवश्यक मेसिनहरू नहुँदा काम प्रभावकारी हुन सकेको छैन। महानिर्देशक भट्टराईले बेरुजुका अन्य कारणहरूमा सुर्ती र ग्यास बुलेटको ढुवानीसमेत जोडिएको बताएका छन्। विभागले बेरुजु फछ्र्यौटका लागि कार्ययोजना बनाएर काम गरिरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)