यस वर्षको एल निनोले कस्तो प्रभाव पार्ला ?
ratopati.com · Tue Jun 02 07:08:37 GMT 2026

एटलान्टिक महासागरमा आउने सामुद्रिक आँधीको मौसम भर्खरै सुरु भएको छ । यो जुन १ देखि नोभेम्बर ३० सम्म चल्छ । आँधीको गतिविधि सेप्टेम्बरको मध्यतिर सबैभन्दा बढी हुने गर्छ । यस समयमा समुद्रको तातो पानी र वायुमण्डलीय परिवर्तनहरूले उष्णतटीय आँधी (ट्रपिकल स्ट्रोम)लाई तीव्र बनाउँछन्, जसले मुख्यतः क्यारेबियन क्षेत्र तथा अमेरिकाको पूर्वी र खाडी तटीय क्षेत्रलाई प्रभावित गर्छ ।
यस वर्ष अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासन (एलओएए) का मौसमविद्हरूले एल निनोका कारण एटलान्टिकको सामुद्रिक आँधीको मौसम सामान्यभन्दा शान्त रहने अनुमान गरेका छन् । उनीहरूले सामान्यभन्दा कम गतिविधि हुने सम्भावना ५५ प्रतिशत, सामान्य रहने सम्भावना ३५ प्रतिशत र सामान्यभन्दा बढी हुने सम्भावना १० प्रतिशत रहेको बताएका छन् ।
एल निनो के हो र यसले आँधीहरूलाई कसरी प्रभाव पार्छ ?
एल निनो भनेको मध्य तथा पूर्वी उष्णतटीय प्रशान्त महासागरको सतही समुद्री तापक्रम आवधिक रूपमा तातिनु हो । यसले विश्वव्यापी हावा र वर्षा प्रणालीमा अवरोध सिर्जना गर्छ, जसका कारण संसारका विभिन्न भागमा बाढी, खडेरी र तापलहर तीव्र हुन सक्छन् । एल निनो सक्रिय हुँदा विश्वको औसत तापक्रम पनि केही बढ्ने प्रवृत्ति देखिन्छ ।
एल निनो सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र प्रायः ९ देखि १२ महिना रहन्छ, यद्यपि केही अवस्थामा अझ लामो समयसम्म टिक्न सक्छ ।
यसको विपरीत अवस्था ला निना हो, जसमा प्रशान्त महासागरको तापक्रम सामान्यभन्दा चिसो हुन्छ ।
एल निनो र ला निना दुवै इएनएसओ (एल निनो–साउथर्न ओसिलेसन) नामक ठुलो जलवायु चक्रका भाग हुन् ।
तटस्थ अवस्था
सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतर्फ बहने ट्रेड वाइन्डहरू (सक्रिय हावा) स्थिर रहन्छन् । यी हावाले अमेरिकातर्फको तातो सतही पानीलाई एसियातर्फ धकेल्छन् । त्यसपछि अमेरिकाको तटीय क्षेत्रमा समुद्रको गहिराइबाट चिसो पानी माथि आउँछ र त्यसले तातो पानीको स्थान लिन्छ ।
चिसो अवस्थाः ला निना
ला निनाचाहिँ एल निनोको विपरीत अवस्था हो । यस बेला सक्रिय हावा सामान्यभन्दा अझ बलियो बन्छ, जसले थप तातो पानी एसियातर्फ धकेल्छ । परिणामस्वरूप पूर्वी प्रशान्त महासागरको सतही तापक्रम औसतभन्दा कम हुन्छ ।
तातो अवस्थाः एल निनो
एल निनोको समयमा सक्रिय हुने हावा कमजोर हुन्छ वा उल्टो दिशामा बहन थाल्छ । यसले प्रशान्त महासागरको तातो पानीलाई पुनः पूर्वतर्फ, अर्थात् अमेरिकातर्फ फर्किन अनुमति दिन्छ ।
एल निनोले एटलान्टिक क्षेत्रमा हरिकेन गतिविधि दबाउँछ तर प्रशान्त क्षेत्रमा आँधीको गतिविधि बढाउँछ । ला निनाले भने यसको उल्टो प्रभाव पार्दै एटलान्टिक क्षेत्रमा बढी र शक्तिशाली हरिकेन उत्पन्न गराउँछ ।
उष्णतटीय आँधीहरू किन र कसरी बन्छन् ?
उष्णतटीय आँधीहरू भूमध्यरेखा नजिकको तातो समुद्री पानीमाथि बन्छन् ।
तातो हावा माथि उठ्दा त्यहाँ न्यून वायुदाबको क्षेत्र निर्माण हुन्छ । हावा माथि गएर चिसिएपछि फेरि अर्को तातो हावाले त्यसको स्थान लिन्छ । यही चक्रले बलियो हावा र वर्षा उत्पन्न गर्छ ।
यो प्रक्रिया निरन्तर बलियो हुँदै जाँदा उष्णकटिबन्धीय आँधी बन्छ ।
आँधीको घुम्ने गति बढ्दै जाँदा यसको केन्द्रमा ‘आँखा’ (आई) भनिने भाग निर्माण हुन्छ । आँधीको आँखा सामान्यतः शान्त, सफा र अत्यन्त कम वायुदाब भएको क्षेत्र हुन्छ ।
जब हावाको गति ६३ किलोमिटर प्रतिघण्टा (३९ माइल प्रतिघण्टा) पुग्छ, त्यसलाई उष्णतटीय आँधी (ट्रपिकल स्ट्रोम) भनिन्छ । गति ११९ किलोमिटर प्रतिघण्टा (७४ माइल प्रतिघण्टा) पुगेपछि त्यो हरिकेन, टाइफुन वा ट्रपिकल साइक्लोन बन्छ ।
हरिकेन, साइक्लोन र टाइफुन एउटै हुन् ?
आधारभूत रूपमा हेर्दा यी तीनवटै एउटै प्रकारका शक्तिशाली आँधी हुन् । फरक केवल तिनीहरू उत्पन्न हुने स्थानमा हुन्छ ।
हरिकेन
हरिकेनहरू उत्तर एटलान्टिक र उत्तरपूर्वी प्रशान्त महासागरमा उत्पन्न हुन्छन् । यसले प्रायः अमेरिकाको पूर्वी तट, मेक्सिकोको खाडी र क्यारेबियन क्षेत्रलाई प्रभावित गर्छ । हरिकेनको शक्ति १ देखि ५ श्रेणीसम्म मापन गरिन्छ । श्रेणी १ को हरिकेनमा ११९–१५३ किमि प्रतिघण्टा हावा बहन्छ भने श्रेणी ५ को आँधीमा २५२ किमि प्रतिघण्टाभन्दा बढी वेगको हावा चल्न सक्छ ।
साइक्लोन
साइक्लोनहरू दक्षिण प्रशान्त र हिन्द महासागर क्षेत्रमा बन्छन् । यसले अष्ट्रेलियादेखि मोजाम्बिकसम्मका देशहरूलाई असर पार्न सक्छ । साइक्लोनको मौसम सामान्यतः नोभेम्बरदेखि अप्रिलसम्म रहन्छ ।
टाइफुन
टाइफुनहरू उत्तरपश्चिमी प्रशान्त महासागरमा उत्पन्न हुन्छन् र प्रायः फिलिपिन्स तथा जापानमा असर पार्छन् । टाइफुनको मौसम मुख्यतः मेदेखि अक्टोबरसम्म हुन्छ, यद्यपि वर्षभरि बन्न सक्छन् । अत्यन्त शक्तिशाली टाइफुनलाई ‘सुपर टाइफुन’ भनिन्छ ।
एल निनोको प्रभाव विश्वका विभिन्न भागमा फरक–फरक हुन्छ ।
उत्तर एटलान्टिक
एल निनोका बेला एटलान्टिक क्षेत्रमा हरिकेन गतिविधि घट्छ । सामान्य मौसममा १४ वटा नामकरण गरिएका आँधी, सात हरिकेन र तीमध्ये तीन शक्तिशाली हरिकेन हुने गर्छन् ।
ऐतिहासिक तथ्याङ्कअनुसार एल निनोको समयमा हरिकेन सक्रिय रहने दिनहरूको संख्या करिब ६० प्रतिशतले घट्ने गरेको छ र आँधीहरूको समग्र शक्ति पनि कम हुने गरेको छ ।
कएनओएएका राष्ट्रिय मौसम सेवा निर्देशक केन ग्राहमले भनेका छन्, ‘एल निनोले एटलान्टिक क्षेत्रमा हरिकेन विकासलाई दबाउन सक्छ, तर प्रत्येक मौसम कसरी विकसित हुन्छ भन्नेबारे अझै अनिश्चितता छ ।’
उनले चेतावनी दिँदै भने, ‘केवल एउटा आँधीले पनि अत्यन्त खराब मौसम सिर्जना गर्न सक्छ ।’ जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तयारी अवस्थामा रहन आग्रह उनले गरे ।
एटलान्टिक क्षेत्रका आँधीहरू विश्वकै सबैभन्दा घातक र महँगा प्राकृतिक विपत्तिमध्ये पर्छन् । अमेरिकामा मात्रै सन् १९८० देखि २०२४ सम्म हरिकेनका कारण ७ हजार २११ जनाको मृत्यु भएको छ र करिब १.५५ ट्रिलियन डलर बराबरको आर्थिक क्षति पुगेको छ । यसमा क्याट्रिना (२००५), मारिया (२०१७) र हेलेन (२०२४) जस्ता विनाशकारी हरिकेनहरू समावेश छन् ।
उत्तरपूर्वी प्रशान्त (हवाई आसपास)
एल निनोको समयमा हवाई वरपर बढी आँधीहरू बन्ने गर्छन् । एल निनो समाप्त भएको अर्को वर्ष पनि धेरै आँधीहरू यस क्षेत्रमा प्रवेश गर्ने सम्भावना हुन्छ ।
अष्ट्रेलिया र दक्षिण प्रशान्त
एल निनोका बेला अष्ट्रेलियाको तट क्षेत्रमा कम आँधीहरू बन्छन् । तर आँधी पूर्ण रूपमा हराउँदैनन् । तिनीहरू बन्ने क्षेत्र पूर्वतर्फ सरेर इनटरनेसनल डेट लाइन नजिकको दक्षिण प्रशान्त क्षेत्रमा केन्द्रित हुन्छ ।
यी परिवर्तन समुद्री तापक्रम र वायुमण्डलीय अवस्थाको परिवर्तनसँग सम्बन्धित हुन्छन् ।
एसिया र उत्तरपश्चिमी प्रशान्त
उत्तरपश्चिमी प्रशान्त क्षेत्रमा पनि यस्तै प्रभाव देखिन्छ । एल निनोका बेला टाइफुनको कुल संख्या खासै परिवर्तन नहुन सक्छ, तर तिनीहरू बन्ने स्थान परिवर्तन हुन्छ ।
एसियानजिकको पश्चिमी भागमा कम टाइफुन बन्छन् भने अन्तर्राष्ट्रिय मिति रेखातर्फको पूर्वी क्षेत्रमा बढी टाइफुन बन्ने गर्छन् ।
धेरै परिवर्तन नदेखिएका क्षेत्र
दक्षिणपश्चिमी र उत्तरी हिन्द महासागर क्षेत्रमा आँधीको संख्यामा उल्लेखनीय परिवर्तन देखिँदैन ।
आँधीहरूको नाम कसरी राखिन्छ ?
उष्णकटिबन्धीय आँधीहरूलाई नाम दिने अभ्यास चेतावनी र सञ्चारलाई सहज बनाउन सुरु गरिएको हो । प्रारम्भिक समयमा आँधीहरूलाई मनपरी नाम दिइन्थ्यो, जस्तै क्षतिग्रस्त डुङ्गाको नामबाट ‘एन्ट्जेको हरिकेन’ ।
बीसौँ शताब्दीको मध्यतिर आँधीहरूलाई महिलाका नाम दिन थालियो । पछि मौसमविद्हरूले वर्णानुक्रमअनुसार नामहरूको सूची अपनाए । सन् १९७९ देखि पुरुष नामहरू पनि समावेश गरिए र अहिले पुरुष तथा महिला नाम पालैपालो प्रयोग गरिन्छ ।
हरिकेनका नामहरू विश्व मौसम संगठन (डब्लुएमओ) ले व्यवस्थापन गर्ने सूचीबाट लिइन्छन् । ६ वटा सूची प्रत्येक ६ वर्षमा दोहोरिन्छन् । तर अत्यन्त घातक वा विनाशकारी आँधीको नाम स्थायी रूपमा हटाइन्छ । क्याट्रिना (२००५), स्यान्डी (२०१२), इर्मा र मारिया (२०१७) त्यस्ता नामहरू हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)