औजार र सवारीसाधनको पूजाअर्चना
gorkhapatraonline.com · Fri Sep 18 01:53:28 GMT 2026

यन्त्र, औजार, प्रविधि, कलकारखाना तथा सवारीसाधनको पूजाअर्चना गरी बिहीबार ‘विश्वकर्मा पूजा’ हर्षोलोसका साथ मनाएका छन् । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका दिन विशेष गरी फलाम तथा अन्य धातुका औजार प्रयोग गरी काम गर्ने कालिगड, प्राविधिक, उद्योगी, व्यवसायी र सवारीसाधनका धनीले आफ्ना कामका साधन सफा गरी पूजा गर्ने गर्छन् । मेसिन तथा औजारलाई फूलमाला, अक्षता, अबिरलगायत सामग्रीले सजाएर पूजा गर्ने र प्रसाद वितरण गर्ने गरिन्छ । धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्पकला तथा विभिन्न प्रकारका औजारका देवताका रूपमा पूजा गरिन्छ ।
मानव जीवनमा निर्माण र उत्पादनका काममा प्रयोग हुने साधनको संरक्षण तथा सम्मान गर्ने परम्पराका रूपमा पनि विश्वकर्मा पूजालाई लिइन्छ । भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गरिरहनुभएका ज्योतिषी भूपेन्द्र अधिकारीले भन्नुभयो, “विश्वकर्मा पूजाको दिनमा आफूले दैनिक रूपमा प्रयोग गरिने सम्पूर्ण उपकरणको पूजाअर्चना गर्न सके राम्रो हुन्छ ।” उहाँले मोटरसाइकल, स्कुटर, कार, जिप, बस, ट्रक, ट्याक्सी तथा अन्य सवारीसाधनको पूजा गर्ने प्रचलन बढेको बताउनुभयो । यातायात व्यवसायी तथा चालकले सवारीसाधन सफा गरी फूलमाला तथा अन्य पूजाका सामग्रीले सजाएर विश्वकर्माको पूजा गर्ने गर्छन्, अधिकारीले भन्नुभयो । कतिपय स्थानमा सवारीसाधनलाई पूजा गरिसकेपछि मात्र नियमित सञ्चालनमा ल्याउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)