एसियाडमा महिला भलिबलको चुनौती समाप्त
gorkhapatraonline.com · Fri Sep 18 01:56:30 GMT 2026
क्रिकेट, फुटबल र भलिबलमा नेपाली राष्ट्रिय महिला टिमको प्रगति उल्लेखलायक छ । यद्यपि आइची नागोया एसियाली खेलकुदमा अपेक्षा गरिए पनि यस पटक महिला फुटबल र महिला क्रिकेट छनोट हुन सकेनन् । नेपाली महिला भलिबल छनोट भएर एसियाको सबभन्दा ठुलो खेलकुद मेलामा खेल्ने भएप्छि नेपाली समर्थक केही खुसी बनेका थिए तर नेपाली महिला भलिबल टिमको चुनौती २० औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि नै समाप्त भएको छ ।
२० औँ एसियन गेम्स २०२६ मा नेपाल बिहीबार इन्डोनेसियासँग सोझो सेटमा पराजित भएपछि नेपालको अगाडि बढ्ने चुनौती सकिएको हो । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा आयोजक जापानसँग सोझो सेटमा हारेको थियो । त्यसैले नेपाललाई क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम राख्न इन्डोनेसियालाई हराउनुपर्ने बाध्यता थियो तर इन्डोनेसियाले नेपाललाई २५–१२, २५–२१ र २५–२० ले पराजित गर्यो । लगातार दोस्रो पटक एसियाड खेलेको नेपालले अब नवौँ देखि १४ औँ स्थानका लागि हुने वर्गीकरणका लागि खेल्ने छ । समूह चरणका सबै खेल सकिएपछि नेपालको प्रतिद्वन्द्वी थाहा हुने छ । नेपालको पदकको सम्भावना सकिएलगत्तै जापान र इन्डोनेसिया अन्तिम आठमा पुगेका छन् । २० औँ एसियाडको उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टाथलनलगायत महिला भलिबल पनि खेलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)