राजा वीरेन्द्रको २५औँ स्मृति सभामा दरबार हत्याकाण्डको पुनः छानबिन गर्न माग (कार्यक्रमका तस्बिरहरु)
ratopati.com · Tue Jun 02 08:09:15 GMT 2026

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको २५औँ स्मृति सभा विभिन्न कार्यक्रमका साथ मनाइएको छ। स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा मंगलबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा वक्ताहरूले दरबार हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न पुनः छानबिनको माग गरेका छन्।
कार्यक्रममा प्रतिष्ठानका प्रतिनिधिहरूले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको २५ वर्ष बितिसक्दा पनि घटनाबारेका सबै तथ्य सार्वजनिक हुन नसकेको भन्दै निष्पक्ष र तथ्यपरक छानबिन आवश्यक रहेको बताए। उनीहरूले सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।
प्रतिष्ठानले राजा वीरेन्द्रको जन्मजयन्ती, स्मृति सभा, शान्ति गोष्ठी तथा पृथ्वी जयन्तीलगायत कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ। यस वर्षको स्मृति सभा विशेष भावनात्मक बनेको भन्दै सहभागीहरूले राजा वीरेन्द्रको निधनपछि आफूहरूलाई अझै अभिभावकविहीन भएको अनुभूति हुने गरेको बताए।
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको निधन भएको थियो। प्रतिष्ठानले उक्त दिनलाई “कालो दिन” का रूपमा औपचारिक मान्यता दिन सरकारसँग माग गरेको छ।
कार्यक्रमका वक्ताहरूले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकासप्रेमी तथा प्रजातन्त्रका पक्षधर शासकका रूपमा स्मरण गरे। नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत उनले अन्तर्राष्ट्रिय समुदायमा शान्तिको सन्देश दिएको र उक्त प्रस्तावलाई विश्वका ११६ राष्ट्रले समर्थन गरेको स्मरण गरियो।
प्रतिष्ठानले राजा वीरेन्द्रको योगदान र त्यागको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, शान्ति र विकासका क्षेत्रमा उनका विचारहरू आज पनि सान्दर्भिक रहेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउन राज्यले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ