मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रहस्यमय दरबार हत्याकाण्डको २५ वर्ष : छानबिन आयोगको प्रतिवेदनमा कैद भएका सनसनीपूर्ण विवरण

nagariknews.nagariknetwork.com · Tue Jun 02 07:44:04 GMT 2026

दरबार हत्याकाण्डको २५ वर्षपछि पनि यसको रहस्य अझै कायम छ। नेपाली इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमयी घटनाका रूपमा रहेको 'नारायणहिटी राजदरबार हत्याकाण्ड' सम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि संशय मेटाउन सकेको छैन।

यसबिचमा बनेका प्राय: सरकारले यो कुरा उठाएर सत्यतथ्य बाहिर ल्याउने वाचा पनि गर्दै आएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रदेखि बहुदलसम्म आइपुग्दा हरेकका लागि यो विषय राजनीतिक त भयो तर जनतालाई आश्वस्त पार्न कसैले पनि सकेनन्। आज पनि राप्रपालगायत दलले यसमा अनुसन्धान हुनुपर्ने आवाज उठाइरहेका हुन्छन्।

२०५८ साल जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा घटेको उक्त विभत्स घटनाले तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण वंश नै सखाप पारेको थियो। तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले घटनास्थलको सूक्ष्म निरीक्षण, प्रत्यक्षदर्शीहरूको बयान र भौतिक प्रमाणहरूको संकलन गरी प्रतिवेदन तयार पारेको थियो। सो प्रतिवेदनमा घटनास्थलको विभत्स भौतिक अवस्था र त्यहाँ उपस्थित सदस्यहरूको बयानलाई विस्तृत रूपमा उल्लेख गरिएको छ।

घटना लगत्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले देशवासीका नाममा शाही घोषणा जारी गर्दै प्रारम्भिक जानकारी दिएका थिए। युवराज दीपेन्द्र गम्भीर घाइते अवस्थामा थिए। उनलाई घटनाको केही समयपछि राजा घोषित गरियो र ज्ञानेन्द्रलाई कार्यवाहक राजाको जिम्मेवारी दिइयो। जेठ २२ गते दीपेन्द्रको उपचारकै क्रममा सैनिक अस्पताल छाउनीमा निधन भएको औपचारिक घोषणा भयो।

ज्ञानेन्द्रले आफ्नो घोषणामा नेपालको इतिहासमा आइपरेको यस अकल्पनीय अवस्थाको अनुचित फाइदा लिँदै राष्ट्रिय एकता, स्वतन्त्रता र राष्ट्रियतालाई कमजोर पार्ने प्रयास हुनसक्ने भएकाले सबै नेपालीलाई एकजुट हुन आग्रह गरेका थिए।

सोही घोषणा मार्फत घटनाको सत्यतथ्य पत्ता लगाउन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा, सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभामा विपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। यद्यपि, नेकपा (एमाले) स्थायी कमिटीको निर्णयबमोजिम नेता माधवकुमार नेपालले समितिबाट राजीनामा दिएका थिए, जसलाई स्वीकृत गरिएको थियो।

समितिले त्रिभुवन सदनको बिलियर्ड कोठा, भान्सा, कौसी र वरपरको चौरको विस्तृत निरीक्षण गर्दा घटनास्थल युद्धमैदान जस्तो देखिएको प्रतिवेदनमा उल्लेख छ। घटनास्थलबाट एम-१६ ए-२ राइफल, एचके एमपी-५के सब-मेशिन गन, ग्लक पिस्तोल, १२ बोरको बन्दुक लगायतका घातक हतियार र तिनका म्यागेजिनहरू फेला परेका थिए।

बिलियर्ड कोठा, बाहिरी चौर र सुखला हुने भवनको गेटभित्रबाट ठुलो संख्यामा गोलीका खोकाहरू बरामद भएका थिए। त्रिभुवन सदनको मुख्य भर्‍याङको खुड्किलामा तत्कालीन बडामहारानी ऐश्वर्यको दाँत र बंगाराका टुक्राहरू, रगतको ठुलो आहाल, साडीको क्लिप र पोतेका टुक्राहरू छरपस्ट अवस्थामा भेटिएका थिए भने भित्ताहरूमा गिदी र रगत उछिट्टिएको प्रस्ट देखिन्थ्यो। यसबाहेक बिलियर्ड बोर्ड नजिकै चुरोटका बट्टा, डा. राजीव शाहीको चेक कोट, राजा वीरेन्द्र तथा कुमार धीरेन्द्र शाहको टोपी र चश्मा रगत लतपतिएको अवस्थामा फेला परेका थिए।

छानबिन समितिले घटनास्थलमा उपस्थित राजपरिवारका सदस्यहरू र शाही नातेदारहरूसँग लिएको बयानले उक्त रातको त्रासदीलाई उजागर गर्छ। शाहजादा पारस शाहका अनुसार सो रात युवराज दीपेन्द्र अत्यधिक नशामा लरबरिएकाले उनलाई उठाएर माथिल्लो तलाको खोपीमा सुताउन लगिएको थियो। पारसले विवाहको विषयलाई लिएर विवाद भएको र दीपेन्द्र सैनिक पोशाकमा हातमा स्वचालित हतियार लिएर भित्र पसी सुरुमै राजा वीरेन्द्रमाथि गोली चलाएको बताएका थिए। उनलाई रोक्न खोज्दा धीरेन्द्र शाहमाथि पनि गोली प्रहार भएको थियो। पारसले आफूले बस्ने कुनाबाट हिमानी, सिताष्मा, दिलासा र प्रेरणा लगायतका बुहारी-बहिनीहरूलाई सोफाको पछाडि लुकाएर ज्यान बचाएको उल्लेख गरेका छन्।

राजा वीरेन्द्रकी बहिनी शोभा शाहीका अनुसार दीपेन्द्र कम्ब्याट लुगामा भित्र छिरेर गोली चलाउन थालेपछि सुरुमा उनलाई ठट्टा जस्तो लागेको थियो। तर राजा ढलेपछि उनी कुद्दै दाइलाई समाउन गइन् र दीपेन्द्रले भुइँमा राखेको एउटा हतियार थुतेर म्यागेजिन निकाली फालिदिइन्। अर्का घाइते कुमार गोरखले पटाका पड्किएको जस्तो आवाज सुनेपछि हेर्दा राजा वीरेन्द्र ढलेको देखेको र दीपेन्द्रबाहेक अन्य कसैको हातमा हतियार नदेखेको बयान दिएका थिए।

दीपेन्द्रले घाइतेहरूलाई ताकी-ताकी हानेको र सोही क्रममा आफू र आफ्नी श्रीमती अधिराजकुमारी श्रुतिलाई गोली लागेको बताइएको छ। रवि शमशेरका अनुसार राजा वीरेन्द्र बिलियर्ड टेबल नजिक कुरा गरिरहेका बेला अचानक सैनिक पोशाकमा आएका दीपेन्द्रले प्रहार गरेको पहिलो गोली राजाको घाँटी र पेटमा लागेको थियो, जसप्रति राजाले 'ए, के गर्‍या?' भनी सोध्दै बिस्तारै आफ्नो ग्लास टेबलमा राखेर ढलेका थिए।

घटनालगत्तै युवराज दीपेन्द्रका ए.डी.सी. कुद्दै आएर उनले आफैँलाई गोली हाने भन्दै चिच्याएको पारसको बयानमा उल्लेख छ। दीपेन्द्रको शरीर चौरको दक्षिण-पश्चिम कुनामा सानो पोखरीको छेउमा फेला परेको थियो, जहाँ उनको कम्ब्याट टोपी पानीमा तैरिरहेको थियो भने एउटा ग्लक पेस्तोल पानीमुनि डुबेको अवस्थामा भेटिएको थियो।

दरबारभित्रका ढोकाहरू भित्रबाट छेस्कनी र ताला लगाइएका कारण उद्धार टोलीले ऐना र सिसाका ढोकाहरू फुटाई भित्र पसेर घाइतेहरूलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्‍याएको थियो। आधिकारिक प्रतिवेदन अनुसार राजा वीरेन्द्र, बडामहारानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, कुमार धीरेन्द्र, जयन्ती शाह, शारदा शाह, शान्ति शाह र कुमार खड्गविक्रम शाह लगायतको सोही घटनामा वा उपचारका क्रममा निधन भएको थियो।

समितिको निष्कर्ष: लागू पदार्थ (ह्यासिस मिश्रित चुरोट) र रक्सीले मातेका दीपेन्द्रले विवाह सम्बन्धी विवादको झोकमा यो घटना घटाएको र पछि आफैंलाई गोली हानेको उल्लेख छ। तर २५ वर्षपछि पनि यो आधिकारिक निष्कर्षलाई लिएर विभिन्न आशंका र रहस्य कायम छन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय