दरबार हत्याकाण्डको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग
makalukhabar.com · Tue Jun 02 08:28:58 GMT 2026

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबार राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभाको अवसरमा प्रतिष्ठानले घटनाको निष्पक्ष छानबिन अझैसम्म हुन नसकेको भन्दै राज्यको गम्भीर कमजोरी रहेको दाबी गरेको हो ।
प्रतिष्ठानका महासचिव रञ्जित धमलाले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड नेपालको इतिहासकै अत्यन्त दुःखद र रहस्यमय घटना भएको बताउँदै राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको मृत्युको वास्तविकता अझै जनतासमक्ष नआउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
‘२५ वर्ष पूरा हुँदा पनि दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक हुन नसक्नु विडम्बना हो,’ धमलाले भने, ‘यसलाई छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्दछौँ ।’
प्रतिष्ठानले उक्त घटनालाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा औपचारिक रूपमा दर्ज गर्न पनि सरकारसँग माग गरेको छ ।
राजा वीरेन्द्रले अघि सारेको नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता रहेको प्रतिष्ठानको भनाइ छ । सो प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार र सरोकारवाला निकायलाई पहल गर्न आग्रह गरिएको छ ।
स्मृति दिवसका अवसरमा जावलाखेलस्थित वीरेन्द्र चोकमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
काठमाडौँ