पाठ्यक्रममा विपत् व्यवस्थापन
gorkhapatraonline.com · Fri Sep 18 03:13:54 GMT 2026

हाम्रो देश जति प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, त्यति नै प्राकृतिक विपत्बाट जोखिमयुक्त पनि छ । मौसम अनुसार बाढी, पहिरो, डुबान, हिमपहिरो, हिमताल फुट्ने जोखिम जस्ता विपत् आइलाग्ने गरेका छन् । बेलाबखतमा शीतलहर, तातो हावा, हुरीबतास, आगजनी, डढेलो, चट्याङ, भूकम्पलगायतका विपत्बाट पनि धनजनको क्षति हुने गरेको छ । देशमा हरेक वर्ष प्राकृतिक विपत्का कारण हजारौँको सङ्ख्यामा मानिसले ज्यान गुमाउनु परेको छ । ठुलो सङ्ख्यामा घाइते, अपाङ्गता भएका तथा घरबारविहीन भएको अवस्था छ । यस दृष्टिकोणबाट हेर्दा समाजलाई प्राकृतिक प्रकोपसम्बन्धी ज्ञान, न्यूनीकरणका उपाय तथा विपत् व्यवस्थापनसम्बन्धी ज्ञान तथा सिप आवश्यक ठानिन्छ । यो आवश्यकतालाई पूरा गर्न शिक्षा प्रणालीको गोरेटोरूपी पाठ्यक्रममा प्राकृतिक प्रकोप र यसबाट बच्न सकिने उपायको विषयवस्तुलाई समावेश गर्न आवश्यक हुन्छ ।
समाजलाई हरेक वर्ष बर्खायाम लागेपछि बाढी, पहिरो र डुबानको त्रासले पिरोलिरहन्छ । देशको भौगोलिक बनोट र समाजको यथार्थताले हरेक नागरिकले प्राकृतिक विपत्का बारेमा यथेष्ट ज्ञान आर्जन गर्नुपर्ने आवश्यकता देखाउँछ । यस वर्ष भदौ १० गते गएको बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो धनजनको क्षति भयो । अहिले घटनाबाट प्रभावित घरपरिवारको बिचल्ली भएको छ । राज्यका संयन्त्र, सङ्घ, संस्था तथा जनस्तरबाट राहतलगायत मानवीय सहयोगको काम भइरहेको छ । परन्तु प्राकृतिक क्षति भएपछि राहत दिने र सहयोग लिने कार्यले समस्याको दीर्घकालीन समस्या समाधान हुन सक्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)