मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

के अभिनेत्री वर्षा राउत ‘आइ एम जीत बहादुर’ मा टाइपकास्ट भएकी हुन् ?

kalakarmi.com · Tue Jun 02 11:16:57 GMT 2026

काठमाडौं– आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आइ एम जीत बहादुर’ मा जीत बहादुर अर्थात् अभिनेता जितु नेपालकी श्रीमतीको भूमिकामा अभिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ ।

व्यापक प्रचार–प्रसारको क्रममा रहेको यो फिल्ममा एक गाउँले युवक कलाकार बन्ने सपना बोकेर सहर पस्दा उनले भोग्ने अनेक संघर्षलाई देखाइएको छ ।

सपनाको पछि दौडिँदै गर्दा, घर–परिवारमा आइपर्ने संकट चित्रणमा भिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ भने फिल्ममा हिरोइनको पात्रमा अभिनेत्री प्रियंका कार्कीलाई मोडर्न लुकमै प्रस्तुत गरिएको छ ।

पछिल्लो समय फिल्म ‘मालती मंगले’ मा पनि वर्षालाई ग्रामीण परिवेशमा श्रीमतीकै पात्रमा दर्शकले हेरेका हुन् । उक्त फिल्ममा उनले गरेको सशक्त अभिनयले दर्शकको धेरै माया र प्रशंसा कमाउन सफल भएको थियो ।

यसैबीच, वर्षालाई ब्याक–टु–ब्याक उस्तै पात्रमा देखिनुको साटो ‘आइ एम जीत बहादुर’ मा प्रियंका कार्कीले निर्वाह गरेको पात्रमा अभिनय गर्न मन लागेन ? भन्ने प्रश्नमा वर्षा भन्छिन्– ‘म अझै कन्फिडेन्ट छैन । मोडर्न लुक र ग्ल्यामरको पात्र मैले गर्न सक्छु जस्तो मलाई लाग्दैन । त्यसका लागि मलाई अझै केही समय लाग्छ ।’

यस बाट बुझ्न सकिन्छ, वर्षा टाइपकास्ट भएकी होइनन्, आफ्नै इच्छाले ग्रामिण परिवेशकै पात्र चयन गरेकी रहेछिन् ।

यस फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पनि वर्षा फिल्मकै टिसर्ट र प्यान्ट लगाएर प्रस्तुत भएकी थिइन् । उता प्रियंका भने पूर्ण रूपमा ग्ल्यामर लुकमा उपस्थित थिइन् । यस प्रसंगमा ठट्टा गर्दै वर्षाले भनेकी छिन– ‘प्रियंका दिदी हिरोइनकै पात्रमा आउनु भयो, अनि मैले चाहिँ ब्यालेन्स गर्नका लागि टिसर्ट लगाएकी हुँ ।’

हुन त वर्षालाई नेचुरल लुकमै मन पराउने दर्शकको कमी छैन । वर्षाको अनफिल्टर्ड बोली, स्वभावदेखि लवाइ–खवाइसम्म प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गर्छ ।

वर्षाकै स्वभावको कुरा गर्दा, यस फिल्मका भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले वर्षाको खुलेर प्रशंसा गरेका छन् । फिल्ममा पात्रले रोटी खानु त ठीकै छ, अफ क्यामेरा पनि वर्षाले निस्तै रोटी खाएको देख्दा निर्देशकलाई उनको सरलता र काम गर्ने शैली निकै मन परेको रहेछ ।

१५ दिनभित्रै छायांकन सकिएको यस फिल्मलाई लिएर दर्शकले यति थोरै समयमा छायांकन सकिन्छ र ? फिल्म राम्रो बनेको होला र ? भन्ने प्रश्न गर्दा अभिनेता जितु नेपाल भन्छन्– ‘निर्देशक क्लियर हुनु हुन्थ्यो । उहाँले रात–दिन नभनी खटेर काम गर्नुभयो । उहाँलाई चाहिने दृश्यहरू मात्रै टकटक खिच्दै गयौँ । हामीले समय बर्बाद गरेनौँ ।’

यो फिल्म अभिनेता जितु नेपालका लागि विशेष छ । ‘मेरो लागि यो फिल्म खेलको मैदान हो, हार–जित आफ्नो ठाउँमा छ । धनभन्दा मन लगाएर बनाएको फिल्म हो । सबैले माया गरिदिनु होला’, अभिनेता नेपालको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय