मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालनको अभिव्यक्तिलाई भारतले ‘नोटिस’मा लियो, भन्यो: तेस्रो पक्षको कुनै भूमिका छैन

clickmandu.com · Tue Jun 02 11:24:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले दुई देशबीचको सीमा मामिलामा कुनै पनि ‘तेस्रो पक्ष’को संलग्नता आवश्यक नरहेको स्पष्ट पारेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले ‘नोटिस’मा लिएको बताए । उनले सीमासम्बन्धी बाँकी विषयहरूलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै सम्बोधन भइरहेको र त्यसमै जोड दिनुपर्ने उल्लेख गरे।

‘हामीले नेपालका प्रधानमन्त्रीको टिप्पणी हेरेका छौँ । भारत-नेपाल सीमाको करिब ९८ प्रतिशत क्षेत्रको सीमांकन कार्य सम्पन्न भइसकेको छ । दशगजा अतिक्रमण र केही प्राविधिक मुद्दाहरू बाँकी छन्, जसलाई समाधान गर्न दुवै देशबीच स्थायी द्विपक्षीय संयन्त्रहरू क्रियाशील छन्,’ प्रवक्ता जैसवालले भने ।

गण्डक नदीले धार परिवर्तन गर्दा केही क्षेत्रमा उत्पन्न असहज परिस्थितिबारे उल्लेख गर्दै उनले हाल दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ रहेको र स्थितिलाई संयमित रूपमा हेरिएको जानकारी दिए ।

प्रधानमन्त्री बालेन शाहले सांसदहरूको प्रश्नोत्तरमा नेपाल भारतबीचको सीमा विवाद समाधानको प्रयास भइरहेको र विवाद समाधानमा नेपाल भारतसहित बेलायतको संलग्नता बताएका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सांसदहरूले सोधेको प्रश्नमा बालेनले नेपालले पनि भारतीय जग्गा मिचेको दाबी गरेका थिए । ‘तपाईँहरूलाई अचम्म लाग्न सक्छ, तर भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको पाइएको छ,’ उनले भनेका थिए ।

उनले लिपुलेक र लिम्पियाधुराका विषयमा नेपाल सरकारले भारतलाई ‘डिप्लोम्याटिक नोट’ पठाइसकेको र त्यसको जवाफसमेत प्राप्त भएको जानकारी दिएका थिए ।

सीमा समस्या’ब्रिटिस इन्डिया’को पालादेखि रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस विषयमा बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएका थिए। तर, भारतले भने यस्ता मामिलामा तेस्रो मुलुकको संलग्नतालाई ठाडै अस्वीकार गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय