बालेनको सीमासम्बन्धी अभिव्यक्तिबारे भारतको प्रतिक्रिया- तेस्रो पक्षको कुनै भूमिका छैन
himalpress.com · Tue Jun 02 11:40:38 GMT 2026

काठमाडौँ- भारतले नेपाल-भारत सीमा विवादमा कुनै पनि तेस्रो पक्षको भूमिका नरहेको स्पष्ट गरेको छ। भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार साप्ताहिक पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका हुन्।
उनले नेपालको प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कालापानी–लिपुलेक क्षेत्र भारतले अतिक्रमण गरेको विषयमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै नेपालले यो विवाद बेलायत (ब्रिटिस भारत) कालदेखि सुरु भएकाले नेपालले यस विषयलाई बेलायतसँग उठाउने बताएको प्रसंग उल्लेख गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको बताएको कुरा पनि उल्लेख गरेका थिए।
‘हामीले नेपालका प्रधानमन्त्रीले भारत-नेपाल सीमासम्बन्धी दिएको टिप्पणी र त्यसपछि नेपाल विदेश मन्त्रालयले जारी गरेको वक्तव्य दुवै देखेका छौँ’, जैसवालले भने।
‘सीमासम्बन्धी सबै विषयहरू समाधान गर्न हामीसँग द्विपक्षीय संयन्त्रहरू छन्। भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको भूमिका हुँदैन भन्ने कुरा सबै सम्बन्धित पक्षलाई स्पष्ट हुनुपर्छ’, उनले थपे।
जैसवालका अनुसार भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको छ, तर केही भाग अझै विवादित छन्। ‘गण्डक (नारायणी) नदीको धार परिवर्तनका कारण यस्तो स्थिति बनेको हो। साथै सीमांकन गरिएका केही क्षेत्रमा सीमापार अतिक्रमण र नो–म्यान्स ल्यान्ड कब्जाका घटना पनि छन्, जसलाई हाल संयुक्त रूपमा नक्सांकन गरिँदै छ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह