मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

समस्याग्रस्त स्वास्थ्य बीमालाई हालसम्मकै उच्च बजेट, २० अर्ब २० करोड विनियोजन

corporatenepal.com · Tue Jun 02 12:04:28 GMT 2026

काठमाडौं । अस्पतालहरुको दावी भुक्तानी दिन नसकेर समस्याग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले आगामी आवका लागि २० अर्ब २० करोड ६० लाख रूपियाँ बजेट विनियोजन गरेको छ, यो स्वास्थ्य बीमाका लागि हालसम्म कै उच्च विनियोजन हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आवको रातो कितावमा स्वास्थ्य बीमाका लागि सो बराबरको बजेट विनियोजन भएको देखिन्छ । पछिल्लो समय स्वास्थ्य बीमामा सेवा लिने बीमितको अनुपात बढ्दै गएको छ । त्यसले खर्च समेत बढाएको छ । उच्च दावी भएपछि सरकारले अस्पताललाई त्यसको शोध भर्ना पनि दिन सकेको छैन ।

Advertisement

त्यो अवस्थामा वर्तमान सरकारले स्वास्थ्य बीमाको व्यापक पुनः संरचना गर्ने गरि बजेट वक्तव्यमै उल्लेख गरेको थियो । ‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्नेछौं । छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौँ । स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं,’ बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेका थिए ।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको रातो किताबमा भने यो कार्यक्रमलाई २० अर्ब २० करोड ६० लाख रूपियाँ बजेट विनियोजन गरिएको छ, जुन हालसम्मकै उच्च हो ।

यो कार्यक्रममा आव २०८०/८१ मा सात अर्ब ५० करोड रूपियाँ र २०८१/८२ मा १० अर्ब ५० करोड ११ लाख रूपियाँ वास्तविक खर्च भएको छ । चालु आवका लागि पनि यो कार्यक्रमलाई १० अर्ब बजेट विनियोजन गरिएको थियो । तर, उच्च दावीका कारण चालु आवमा यस कार्यक्रममा १८ अर्ब १३ करोड १८ लाख रूपियाँ खर्च हुने संशोधित अनुमान छ । र, आगामी आवका लागि भने २० अर्ब २० करोड ६० लाख बजेट विनियोजन गरिएको छ । उच्च विनियोजन भएसँगै अस्पतालले दावी भुक्तानी पाउने आशा पनि बढेको छ ।

सरकारले गत जेठ १३ गते सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षणले पनि स्वास्थ्य बीमा कार्यक्रममा ६३.८ प्रतिशत बीमितले सुविधा लिने गरेको देखिएको छ, जुन अनुपात आफैमा उच्च हो ।

अहिले सरकारले दावी भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम संकट ग्रस्त अवस्थामा पुगेको छ । त्यसको पछाडिको एक कारण उच्च दावी पनि एक हो । सामान्यतः यस्तो अनुपात ३० प्रतिशत हाराहारीमा भएको राम्रो मानिन्छ । तर, नेपालमा यसको अनुपात डरलाग्दो छ ।

तथ्यांक अनुसार चालु आवमा यस्तो सेवा लिने बीमितको अनुपात बढेको छ । गत आवमा यस्तो अनुपात ४९.२ प्रतिशत थियो । चालु आवमा त्यो ६३.८ प्रतिशत पुगेको तथ्यांक छ ।

समीक्षा अवधिमा ८१ लाख ६२ हजार बीमित सक्रिय छन् । त्यसमा ५२ लाख १० हजार जनाले बीमा अन्तरगत सेवा लिएका छन् । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन यसको दायरा बढाउनु पर्ने र दावीलाई बास्तविक बनाउनु पर्ने विज्ञहरु बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)