रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदैन - अध्यक्ष अग्रवाल
arthasansar.com · Fri Sep 18 07:15:01 GMT 2026

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन् । भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दी केवल घरजग्गा कारोबारमा सीमित नरही रोजगारी, बैंकिङ स्थायित्व, शहरी विकास र निजी क्षेत्रको लगानीसँग जोडिएको राष्ट्रिय आर्थिक समस्या बनेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सको समन्वय तथा सहकार्यमा आयोजित ९ औं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले भूमि, आवास, पूर्वाधार तथा निर्माण क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार भएको बताए । यस क्षेत्रले रोजगारी सिर्जना, लगानी परिचालन, बैंक तथा वित्तीय क्षेत्रको गतिविधि, निर्माण सामग्री उद्योग, राजस्व र समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने उनले उल्लेख गरे । कोभिड–१९ महामारीअघि घरजग्गा, आवास तथा निर्माण क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको स्मरण गर्दै अध्यक्ष अग्रवालले पछिल्लो समय महामारी, विश्वव्यापी भूराजनीतिक तथा आर्थिक चुनौती र संकुचित नीतिगत व्यवस्थाका कारण रियल स्टेट क्षेत्र प्रभावित भएको बताए । यसको असर बैंक तथा वित्तीय संस्थाको ऋण पोर्टफोलियोदेखि औद्योगिक तथा व्यावसायिक गतिविधिसम्म परेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)