खाली आँगन, परदेशी सपना
reportersnepal.com · Fri Sep 18 07:42:25 GMT 2026

काठमाडौँ, २ असोज (रासस) । बिहानको झिसमिसेमा नेपालको कुनै गाउँ सम्झौँ । एउटा पुरानो घरको आँगनमा वृद्ध बुबा चुपचाप बसिरहेका छन् । भान्सामा आमा उठिसकेकी छिन् । चुलोमा आगो बलिरहेको छ । घरभित्र सबै कुरा छ, तर घरमा एउटा कुरा छैन–छोराछोरीको आवाज । कुनै समय यही घर बिहानैदेखि हाँसोले भरिन्थ्यो । कसैले आमासँग चिया माग्थ्यो, कसैले विद्यालय जान हतार गथ्र्यो, कसैले किताब खोज्थ्यो, कसैले बुबाको गाली खान्थ्यो ।
आज ती आवाजहरू सम्झनामा मात्र छन् । छोराको कोठा अझै उस्तै छ । दराजमा पुराना कपडा छन् । टेबलमा पुराना किताब छन् । भित्तामा बाल्यकालको फोटो छ । तर छोरा छैन । ऊ हजारौँ किलोमिटर टाढा छ । घरमा पैसा आउँछ, मोबाइलमा फोन आउँछ, भिडियो कल आउँछ, तर छोरा आफैँ आउँदैन । आमा कहिलेकाहीँ छोराको कोठामा पस्छिन्, ओछ्यान मिलाउँछिन्, सिरानी छाम्छिन् र केही क्षण मौन बस्छिन् । उनलाई थाहा छ—छोरा विदेशमा छ । तर आमाको मनले दूरी बुझ्दैन। आमाको मनले केवल एउटा कुरा बुझ्छ–“मेरो छोरा घरमा छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)