महाधिवेशन समयमा नै सम्पन्न गर
rajdhanidaily.com · Tue Jul 20 23:21:26 GMT 2021
नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाले नयाँ सरकारको कार्यभार सम्हालेसँगै नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रमा फेरि समस्या देखिएको छ । समयमै सम्पन्न गरिनुपर्ने पार्टीका काम केन्द्रदेखि स्थानीयस्तरसम्म हेरफेर तथा अनिश्चितजस्तै हुन गएका छन् । पार्टी केन्द्रीय महाधिवेशनसँगै स्थानीयस्तरका भेला र सम्मेलन पनि रोकिन पुगेका छन् । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीको पार्टी आन्तरिक जीवन प्रजातान्त्रिक अभ्यासबाट यति टाढन हुन पुग्नु दुर्भाग्यको कुरो हो । त्यसमा पनि पार्टी आन्तरिक विवाद समाधान हुन नसक्नाले गुट उपगुट सल्बलाउन पुग्दा प्रजातान्त्रिक अभ्यास गुटगत अभ्यासमा परिणत हुन पुगेको देखिन्छ । यसले स्वस्थ प्रजातान्त्रिक अभ्यासमा बाधा पु¥याई गुटगत मनोमालिन्यलाई बढावा दिइरहेको छ ।
देशमा हुने प्रजातान्त्रिक अभ्यास, सो अभ्यासको जग र तदनुरूप विचार कार्यदिशा प्रजातान्त्रिक पार्टीले तय गरेको पार्टीगत विचार कार्यदिशासँग मेल खाने गर्छ । यो हरकोही देशमा लागू हुने प्रक्रिया र पद्धति पनि हो । नेपालमा सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस नै हो । त्यसैले पनि यसको आन्तरिक जीवनमा आउने उत्तरचढावले देशको सिंगो प्रजातान्त्रिक अभ्यासको प्रक्रियामा ठूलो प्रभाव पर्छ । त्यसैले पनि नेपाली कांग्रेसको पार्टी आन्तरिक जीवनमा हुने र गरिने प्रजातान्त्रिक अभ्यासले देशमा, देशको सिंगो शासन व्यवस्थाको आन्तरिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । वास्तवमा प्रजातन्त्रको रक्षा र परिचालन यस्तै पार्टीहरूले गर्ने, पार्टी आन्तरिक जीवनको ठूलो प्रभाव हुन्छ । त्यो प्रभाव हेर्दा प्रत्यक्ष नदेखिए पनि प्रजातान्त्रिक पार्टीको आन्तरिक जीवनमा हुने प्रजातान्त्रिक अभ्यास र सिंगो देशमा हुने प्रणालीगत प्रजातान्त्रिक अभ्यासमा प्रत्यक्ष र परोक्ष प्रभाव र अन्तरसम्बन्ध रहेकै हुन्छ । यो कुरालाई प्रजातान्त्रिक पार्टी र यसका नेताहरूले गम्भीरताका साथ मनन् गरेर पार्टी आन्तरिक जीवनमा हुने गरेका कमीकमजोरीलाई बेलैमा सच्याउनुपर्छ । नेपाली कांग्रेसको आन्तरिक पार्टी जीवनका महाधिवेशन, सम्मेलन र भेलाका कुरा हेर्दा केवल नेपाली कांग्रेसका पार्टी जीवनका आन्तरिक कुरा भन्ने जस्तो नहुन सक्छ । तर, देशको प्रजातान्त्रिक शासन प्रणालीको नेतृत्व गर्ने र त्यसलाई हाक्ने पार्टीको आन्तरिक जीवन नै प्रजातान्त्रिक मर्यादाभन्दा टाढा हुँदै जान थालेपछि त्यस्तो पार्टी र संस्कारमा हुर्किएका नेता तथा कार्यकर्ता प्रजातान्त्रिक अभ्यास नै पछ्याउन सक्ने र व्यवहारतः लागू गर्न सक्ने हैसियतभन्दा टाढा रहन जान्छन् । प्रजातन्त्र आफैंमा प्रणालीगत अभ्यासको कुरा हो । यो संस्कारको कुरा पनि हो । संस्कारगत मूल्य मान्यता स्थापित हुन सकेन भने यसले प्रणालीका कुरा, संविधान र नियमकानुनका कुरा जतिसुकै मीठा गरे पनि व्यवहारमा यसले मूर्तता हासिल गर्न सक्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)