विदेशी युवतीको फोटो प्रयोग गरी एपमार्फत पैसा असुल्ने चिनियाँ नक्सालबाट समातिए
ratopati.com · Tue Jun 02 15:29:51 GMT 2026

काठमाडौँ । काठमाडौंको नक्सालमा कार्यालय खोलेर शङ्कास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा भिजिट भिसामा आएका चिनियाँ नागरिकहरूले भिसाको उद्देश्य विपरीत अवैध कार्य गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामक कार्यालय खोली उनीहरूले अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको ‘लाइभ हब एप’ मार्फत खाता खोल्ने गरेको प्रहरीले जनाएको छ। उक्त एपमार्फत विदेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, पैसा माग्ने तथा अन्य शङ्कास्पद गतिविधि गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले चीन फुजियान ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–१ बस्ने ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन सुआङ्गुईलाई सोमबार नक्सालबाट पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ