धवलशम्शेर राणालाई निर्णय फिर्ता लिन लिङ्देनको आग्रह
shilapatra.com · Tue Jun 02 16:14:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले महामन्त्री धवलशमशेर राणालाई पार्टी छाड्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेका हुन् ।
लिङ्देनले पार्टी महाधिवेशनको तयारीमा जुटिरहेका बेला राणाको पार्टीबाट बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताएका छन् । राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी २८ र २९ जेठमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तथा उक्त बैठकले महाधिवेशनको कार्यतालिका टुंगो लगाउने निर्णय गरिसकेको छ ।
'राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने, उक्त बैठकले महाधिवेशनको कार्यतालिका टुंगाे लगाउने र उक्त कार्यतालिका महामन्त्री धवल शमशेर राणा समेत रहेको समितिले आगामी बैठकमा प्रस्ताव गर्ने टुङ्गो लागेको सार्वजनिक भइसकेकै छ,' विज्ञप्तिमा भनिएकाे छ,' यसरी पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको अवस्थामा अप्रत्यासित रूपमा महामन्त्री डा. धवलशमसेर राणाको पार्टीबाट बहिर्गमनको समाचारले आश्चर्यचकित भएको छु ।'
उनले पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै महामन्त्री राणालाई आफ्नो निर्णय पुनर्विचार गरी महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।
साथै, उनले स्वदेश तथा प्रवासमा रहेका पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी एकता र शुभेच्छुकहरूको भावना विपरीत हुने गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् । स्थानीय तह तथा जिल्ला अधिवेशनको प्रक्रियामा सक्रिय र एकताबद्ध रूपमा जुट्न समेत उनले अपिल गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
२१:५९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)