राज्यले कुनै पनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैन : अध्यक्ष नेपाल
gorkhapatraonline.com · Sat Jun 06 11:33:08 GMT 2026

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
शनिबार नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राज्यले लगानीमैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताउनुभएको हो । राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको उहाँले बताउनुभयो । उद्योग तथा व्यवसायमा प्रतिकूल असर पर्ने गरी राज्यले कुनै पनि नीति लिन नहुने उहाँको भनाइ छ । उहाँले उद्योगव्यवसायको प्रोत्साहन हुन नसक्दा देशभित्र रोजगारी नपाएर युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको आरोपसमेत लगाउनुभयो । स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भए पनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)