मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानी शरणार्थी समस्या समाधान गर्न सरकारसँग कूटनीतिक र राजनीतिक पहलको माग

setopati.com · Tue Jun 02 17:08:36 GMT 2026

भुटान पिपुल्स पार्टीले भुटानी शरणार्थी समस्याको सम्मानजनक र दिगो समाधानका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टीको ३६औं स्थापना दिवसका अवसरमा अध्यक्ष बलराम पौड्यालले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्।

'नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले भुटानी शरणार्थी समुदायमा नयाँ आशा र अपेक्षा जगाएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नवगठित नेपाल सरकारले अवलम्बन गर्ने कूटनीतिक, राजनीतिक तथा मानवीय पहलहरूले शरणार्थीहरूको दीर्घकालीन समस्याको न्यायपूर्ण, सम्मानजनक र दिगो समाधानका लागि ठोस आधार निर्माण गर्नेमा भुटानी शरणार्थीसँगै पार्टी विश्वस्त छ।'

'भुटानी शरणार्थीहरू न त सधैं नेपालमा शरणार्थी जीवन बिताउन चाहन्छन्, न त यो समस्या अनिश्चितकालसम्म क्षेत्रीय बोझका रूपमा रहिरहनु उचित छ,' विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष पौड्यालले भुटानी शरणार्थी समस्याको न्यायपूर्ण समाधान, मानवअधिकार संरक्षण र सम्मानजनक पुनरागमनको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल पनि गरेका छन्।

भुटान सरकारले अवलम्बन गरेको एक राष्ट्र, एक जनता नीतिका कारण करिब डेढ लाख भुटानी नागरिक विस्थापित हुन बाध्य भएको उनले विज्ञप्तिमा उल्लेख गरिएको छ।

'राज्यविहीनताको पीडा केवल कानुनी हैसियतको अभावमा सीमित हुँदैन; यो त पुस्तौँसम्म हस्तान्तरण हुने असुरक्षा, अपमान र अनिश्चितताको दुःखद विरासत हो,' पौड्यालले भनेका छन्।

उनले अमेरिकामा पुनर्स्थापित केही भुटानी नागरिकलाई पुनः गोप्य रूपमा भुटान पठाइएको घटनाप्रति पनि गम्भीर आपत्ति जनाएका छन्। उक्त घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न र पीडितको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय निकायसँग उनले माग गरेका छन्।

'यस्तो संवेदनशील परिस्थितिबीच संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित भइसकेका दर्जनौं भुटानी नागरिकहरूलाई रहस्यमय ढंगले पुनः भुटानमा गोप्य सुपुर्दगी गरिरहेको घटनाप्रति भुटान पिपुल्स पार्टी घोर भर्त्सना गर्दछ। यस जघन्य अपराधको निष्पक्ष छानबिन, सत्यतथ्य तत्काल सार्वजनिक गर्न र पीडितको संरक्षणका लागि पार्टी, सम्बन्धित अन्तर्राष्ट्रिय निकाय, संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त तथा विश्वभरका मानवअधिकार पक्षधरहरूसँग जोडदार माग गर्दछ,' उनले भनेका छन्।

विश्वभर पुनर्स्थापित भई बसोबास गरिरहेका भुटानी समुदायलाई आफ्नो ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान तथा लोकतान्त्रिक अधिकारको आन्दोलनसँग जोडिइरहन आह्वान गरिएको छ।

संसारको जुनसुकै कुनामा रहे पनि आफ्नो जन्मभूमिसँगको सम्बन्ध कायम राख्न तथा मातृभूमि भ्रमण र सम्मानजनक पुनरागमनको अधिकार सुनिश्चित गर्न एकजुट भई अन्तर्राष्ट्रिय स्तरमा सशक्त पैरवी गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा सन् २००८ मा भुटानमा घोषणा गरिएको लोकतन्त्रलाई 'व्यवहारमा अलोकतान्त्रिक, संकीर्ण र निरंकुश' भएको टिप्पणी गर्दै सबै जातीय समूहका लागि समान नागरिक अधिकार, वास्तविक बहुदलीय लोकतन्त्र र कानुनको शासन सुनिश्चित गर्न विश्व समुदायको समर्थन आवश्यक रहेको उल्लेख गरिएको छ।

सन् १९९० जुन २ मा स्थापना भएको भुटान पिपल्स पार्टीले तीन दशकभन्दा बढी समयदेखि भुटानमा लोकतन्त्र, मानवअधिकार र नागरिक स्वतन्त्रताको पक्षमा आन्दोलन गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)