मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान
ratopati.com · Tue Jun 02 17:44:35 GMT 2026

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चालन गर्ने भएको हो ।
बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरूको अन्दाधुन्द दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “स्वच्छ वाहा, सफा पानी, उर्वर भूमि र जैविक विविधता बिना मानव अस्तित्वको सम्भावना छैन । वातावरण मानव जीवनको आधार हो”, उनले भने, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘म वातावरणको संरक्षण गर्छु’ अभियान अन्तर्राष्ट्रिय वातावरण दिवसबाट औपचारिक रूपमा सुरुवात हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)