क्यालिफोनिर्या र फ्लोरिडामा ३ करोड २० लाख लामखुट्टे छाड्दै गुगल
barnanmedia.com · Tue Jun 02 23:40:30 GMT 2026

बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्नो ‘डिबग’ कार्यक्रमअन्तर्गत रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न क्यालिफोर्निया र फ्लोरिडा राज्यमा करिब ३ करोड २० लाख लामखुट्टे छोड्ने योजना बढाएको छ, यसका लागि कम्पनीले अमेरिकी संघीय सरकारसँग अनुमति मागेको छ ।
‘डिबग’ कार्यक्रमको उद्देश्य रोग फैलाउने लामखुट्टेलाई असल लामखुट्टेले नियन्त्रण गर्ने रहेको बताइएको छ । यसअन्तर्गत रोग सार्ने लामखुट्टेको संख्या घटाउन लाखौँ बाँझा भाले लामखुट्टे प्राकृतिक वातावरणमा छोडिनेछन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार लामखुट्टे संसारका सबैभन्दा घातक जीवमध्ये एक हुन् । विश्वभर रहेका यसका २ हजार ५०० भन्दा बढी प्रजातिमध्ये एडिस एजिप्टाइ नामक प्रजातिले डेंगु, जिका र चिकुनगुनिया जस्ता रोग फैलाउँछ, जसबाट हरेक वर्ष करोडौँ मानिस प्रभावित हुन्छन् । गुगलको डिबग परियोजनाका अनुसार रोग सार्ने लामखुट्टे नियन्त्रण गर्न हालका उपायहरू पर्याप्त प्रभावकारी छैनन् । कीटनाशक औषधिको प्रभाव समयसँगै घट्दै गएको छ भने ती वातावरणका लागि पनि हानिकारक हुन सक्छन् । त्यसैगरी लामखुट्टे प्रजनन गर्ने सबै पानी जम्ने स्थान पहिचान गरेर नष्ट गर्न पनि सम्भव हुँदैन ।
कसरी काम गर्छ ‘असल’ लामखुट्टे ?
परियोजनाअनुसार छोडिने भाले लामखुट्टेमा वोल्बाकिया नामक प्राकृतिक ब्याक्टेरिया हुन्छ । यसका कारण ती भाले लामखुट्टेले जङ्गली पोथी लामखुट्टेसँग प्रजनन गर्न सक्दैनन् । भाले लामखुट्टेले मानिसलाई टोक्दैनन र यिनीहरूले रोग पनि सार्दैनन् । तर उनीहरूले पोथी लामखुट्टेसँग सफल प्रजनन गर्न नसक्ने भएकाले समयसँगै रोग फैलाउने लामखुट्टेको संख्या घट्दै जाने अपेक्षा गरिएको छ । परियोजनाका वैज्ञानिकहरूले यो विधिमा कुनै रसायन, विषाक्त पदार्थ वा आनुवंशिक परिवर्तन प्रयोग नगरिने बताएका छन् । उनीहरूका अनुसार यस्तै प्रविधि अन्य हानिकारक कीरा नियन्त्रणमा पनि दशकौँदेखि सुरक्षित रूपमा प्रयोग हुँदै आएको छ ।
अमेरिकी वातावरण संरक्षण एजेन्सी (ईपीए)ले गुगलको प्रस्तावमाथि समीक्षा गरिरहेको छ । प्रस्तावअनुसार पहिलो वर्ष फ्लोरिडामा १ करोड ६० लाख लामखुट्टे छोडिनेछ । दोस्रो वर्ष क्यालिफोर्नियामा थप १ करोड ६० लाख लामखुट्टे छोडिनेछ । यसरी कुल ३ करोड २० लाख लामखुट्टे वातावरणमा छोड्ने योजना रहेको छ ।
गुगलले परियोजना सञ्चालनअघि स्थानीय सरकार, समुदायका अगुवा र अनुसन्धान संस्थासँग सहकार्य गर्ने तथा स्थानीय बासिन्दाका चासो र सुझावलाई ध्यानमा राख्ने जनाएको छ । अमेरिकी अधिकारीहरूले प्रस्तावबारे सार्वजनिक प्रतिक्रिया संकलन गरिरहेका छन भने अन्तिम स्वीकृतिपछि मात्र कार्यक्रम कार्यान्वयन हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)