मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानतर्फ गइरहेको तेल ट्याङ्करमाथि अमेरिकी सेनाको मिसाइल

nepalviews.com · Wed Jun 03 00:55:30 GMT 2026

एजेन्सी । मध्यपूर्वमा जारी तनावका बीच अमेरिकी सेनाले इरानतर्फ अघि बढेको एउटा तेल ट्याङ्करमाथि मिसाइल प्रहार गरी त्यसलाई निष्क्रिय बनाएको दाबी गरेको छ। होर्मुजमा इरानविरुद्ध लागू गरिएको समुद्री नाकाबन्दीका क्रममा उक्त कारबाही गरिएको अमेरिकाले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार बोत्स्वानाको झण्डा अंकित 'एम/टी लेक्सी' नामक खाली जहाजले पटक-पटकको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिनलाई लक्षित गरी 'हेलफायर' मिसाइल प्रहार गरेको हो। अमेरिकी सेनाले मङ्गलवार भएको उक्त आक्रमणको भिडियो फुटेज समेत सार्वजनिक गरेको छ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्क टापुतर्फ गइरहेको उक्त व्यावसायिक जहाजलाई अमेरिकी सेनाले २४ घण्टाको अवधिमा पटक-पटक निर्देशन दिएको थियो। तर जहाजका चालक दलका सदस्यहरूले त्यसलाई पालना नगरेपछि नाकाबन्दीको नियमअनुसार कारबाही गरिएको हो।"

यस घटनाका सम्बन्धमा इरानले हालसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन। यता, जहाज दर्ता भएको मुलुक बोत्स्वाना सरकारसँग यसबारे बुझ्ने प्रयास भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिका र इरानबीचको बढ्दो द्वन्द्वका कारण अमेरिकी सेनाले गत अप्रिल १३ देखि इरानी बन्दरगाहमा आवतजावत गर्ने सम्पूर्ण व्यावसायिक जहाजहरूमाथि कडा समुद्री नाकाबन्दी लगाउँदै आएको छ।

अमेरिकी सैनिक तथ्याङ्क अनुसार यो नाकाबन्दी सुरु भएयता हालसम्म ६ वटा व्यावसायिक जहाजहरूलाई बल प्रयोग गरी निष्क्रिय बनाइएको छ। १२२ वटा जहाजहरूको मार्ग परिवर्तन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)