इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरमाथि अमेरिकी हमला
nepalnews.com · Wed Jun 03 01:00:56 GMT 2026

काठमाडौं । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमा आक्रमण गरेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डा बाहक जहाजले पटक–पटक दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा उक्त ट्यांकरमाथि आक्रमण गरिएको क्षण देखाइएको छ । यस घटनाबारे इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्ग टापुतर्फ जाँदै गरेको बोत्सवाना–झण्डावाहक एम/टी लेक्सीमाथि नाकाबन्दीसम्बन्धी कारबाही गरेको जनाएको छ।
विज्ञप्तिअनुसार जहाजका चालक दलले २४ घण्टाको अवधिमा अमेरिकी सेनाबाट पटक–पटक दिइएका निर्देशनहरूको पालना गरेका थिएनन्।
सेन्टकमका अनुसार नाकाबन्दी लागू भएयता ६ वटा व्यावसायिक जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्याइएको छ भने थप १२२ वटा जहाजलाई आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य पारिएको छ।
अमेरिकी सेनाले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने सबै जहाजमाथि नाकाबन्दी लागू गर्न थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ