मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

gorkhapatraonline.com · Wed Jun 03 03:07:11 GMT 2026

समुद्री सतहदेखि दुई हजार ६३० मिटर उचाइमा अवस्थित सोलेडाँडा सडक सञ्जालले जोडिएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य सोलेडाँडा चैत, वैशाखमा लालीगुराँसले ढकमक्क हुने गर्छ भने चिसो याममा हिउँले सेतोम्मे बन्छ । प्रकृतिको शान्त वातावरणमा रमाउन चाहनेका लागि सोलेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

तमानखोला–४ मा पर्ने सोलेडाँडा बागलुङ र म्याग्दी जिल्लाबाट मोटरबाटोले जोडिएपछि पर्यटकीय गतिविधि बढ्न थालेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउनुहुन्छ । सोलेडाँडाबाट सूर्याेदय र सूर्यास्त, धवलागिरि, धौलाश्री, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खला तथा ग्रामीण भूगोलको अवलोकन गर्न सकिन्छ । वनभोज, रात्रिकालीन शिविर र पदयात्राका लागि सोलेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । सोलेडाँडाका ठुला खर्क, पशुचरन क्षेत्र, सहिद पार्क, पानीपोखरीले पर्यटकलाई लोभ्याउने गर्छ । जैविक विविधताले भरिपूर्ण यहाँको सात रोपनी क्षेत्रफलमा फैलिएको जडीबुटी उद्यानले पर्यटक भित्र्याउन टेवा पुगेको तमानखोला–४ का वडाध्यक्ष छप्रसाद सिर्पाली बताउनुहुन्छ । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि हौसिएको गाउँपालिकाले ढोरपाटन सिकार आरक्षमा पुग्ने पर्यटकलाई तमानखोला भित्र्याउने लक्ष्य बनाएको छ । सोलेडाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाले ढोरपाटन पुग्ने पर्यटकलाई तमानखोला ल्याउन सडक र पदमार्गको निर्माणको कामलाई प्राथमिकता दिएको अध्यक्ष बुढाले बताउनुभयो । सोलेडाँडामा मन्दिर निर्माण गरिएको छ भने खानेपानी र शौचालयको व्यवस्था छ । सामुदायिक भवन, विश्राम स्थललगायतका पूर्वाधार बनाउने गाउँपालिकाको योजना छ । पूर्वाधार बनेपछि एक दिन बासै बस्ने गरी कतिपय पर्यटक पुग्न थालेका छन् । बास बस्नेले गोठ वा टेन्टमा बस्ने अध्यक्ष बुढाले जानकारी दिनुभयो । “गाउँपालिकाका पर्यटकीय क्षेत्रलाई ढोरपाटनसम्म जोड्ने लक्ष्य बनाएका छौँ,” अध्यक्ष बुढाले भन्नुभयो, “बुर्तिवाङ–बोङ्गादोभान सडक स्तरीय बनिसकेको छ । बोङ्गादोभान–बोङखानी–ढोरपाटन सडक र बोङ्गादोभान–तमान लामेला हुँदै म्याग्दी जोड्ने सडक स्तरीय बनेपछि ढोरपाटन घुम्ने पर्यटकलाई सहजै तमानखोला भित्र्याउन सकिन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)