आजदेखि एसियाली खेलकुद
gorkhapatraonline.com · Fri Sep 18 23:48:17 GMT 2026
‘इमाजिन वन एसिया’ को नारासहित २० औँ एसियाली खेलकुद (एसियाड) धुमधामसाथ आयोजना गर्न जापानको तेस्रो ठुलो सहर नागोया तम्तयार छ । एसियाको सर्वाधिक ठुलो खेल मेला एसियाली खेलकुद आधिकारिक रूपमा शनिबार सुरु हुँदै छ । आइची नागोया एसियाडको उद्घाटन समारोह शनिबार पालोमा मिजुहो रङ्गशालामा भएपछि आइची नागोया एसियाड आधिकारिक रूपमा प्रारम्भ हुने छ । उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस सुरु भइसकेका छन् । यो एसियाडको समापन समारोह असोज १८ गते हुने छ । उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ । जापानले उद्घाटन समारोहका लागि मात्र १० हजार प्रहरी तथा सुरक्षा बल खटाएको छ ।
एसियाका करिब १७ हजारभन्दा बढी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको आइची नागोयामा छन् । यो सङ्ख्या ओलम्पिकभन्दा पनि धेरै हो । एसियाडलाई ओलम्पिकपछिको विश्वकै दोस्रो ठुलो खेलकुद प्रतियोगिता मानिन्छ तर खेल र खेलाडी सङ्ख्याको हिसाबले पछिल्लो पेरिस ओलम्पिकभन्दा आइची नागोया एसियाड बृहत् बनेको छ । नागोयाबाहेक टोकियो, सिजोका, गफु र ओसाकामा पनि केही खेल खेलाइने छ । खेलस्थल मात्र ५४ वटा छन् । पछिल्लो पेरिस ओलम्पिकमा ३२ खेल थिए भने आइची नागोया एसियाडा ४३ खेल समावेश गरिएको छ । सबै ओलम्पिक्स खेल त छँदै छ, त्यसबाहेक नागोया एसियाडमा अहिले विश्वमा लोकप्रिय मिक्स मार्सल आर्ट्स (एमएमए) पनि थपिएको छ । यसबाहेक पाडेल, टेकबल, सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रिस्टाइल बिएमएक्स खेलले पनि एसियाली खेलकुदमा पदार्पण गर्दै छ । नेपालले २१ खेलमा सहभािगता जनाउने छ । जसका लागि १३५ नेपाली खेलाडी जापानमा छन् । पहिले घोषणा गरेभन्दा दुई खेलाडी घटेका हुन् । एक खेलाडी मात्र भएको डान्स स्पोर्ट्स सहभागिता भएन भने उसुका मुकेश पण्डित पनि अस्वस्थताका कारण एसियाड आउन सक्नुभएन । खेल सङ्ख्याका हिसाबमा पछिल्ला केही एसियाडभन्दा यो सानो टोली हो । यद्यपि नेपालले विगतभन्दा यस पटक धेरै पदकको आशा गरेको छ । यस पटक नेपालले स्वर्णसहित दोहोरो सङ्ख्यामा पदकको लक्ष्यसहित तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)