इप्पानमा विधान संशोधन र नेतृत्व प्रणालीबारे छलफल हुँदै, नयाँ पुस्तालाई अवसर दिने प्रमुख एजेन्डा
clickmandu.com · Wed Jun 03 05:37:48 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण र भावी दिशाबारे छलफल गर्न आज ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै छ । बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा बुधबार अपराह्न ४ बजे आयोजना हुने यस भेलामा ऊर्जा उद्यमी, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य सहभागिता हुने उल्लेख छ ।
इप्पानको आगामी २४ औं वार्षिक साधारणसभामा पेश हुने विधान संशोधनको प्रस्तावलाई यस भेलाको मुख्य एजेन्डा बनाइएको छ। हालको विधानअनुसार, इप्पानको अध्यक्ष बन्न कार्यसमिति सदस्यबाट पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्मको करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने प्रावधान छ। यो व्यवस्थाले नेतृत्वलाई एउटा सीमित समूहमा मात्र केन्द्रित गरेको र नयाँ पुस्ताका ऊर्जा उद्यमीहरूको अवसर संकुचित गरेको भन्दै संस्थाभित्रै यसको विरोध हुँदै आएको छ।
दुई-तिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा अघि सारिएको विधान संशोधनको यो पहलले संस्थालाई थप लोकतान्त्रिक, पारदर्शी र समावेशी बनाउने उद्देश्य राखेको आयोजक पक्षले जनाएको छ।
विधान संशोधन र नेतृत्व प्रणालीमा सुधारको माग राख्दै आएको इप्पानको एक ‘परिवर्तनकारी समूह’ले यो कार्यक्रमको संयोजन गरेको हो। जसमा वर्तमान कार्यसमितिका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरत बहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपालसहित दुई दर्जनभन्दा बढी कार्यसमिति सदस्य तथा वरिष्ठ ऊर्जा उद्यमीहरू सक्रिय छन्।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीसहित पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाईं, डा. सुवर्णदास श्रेष्ठ र डा. सन्दीप शाह लगायतको उपस्थिति रहनेछ।
भेलाले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई थप सशक्त बनाउन साझा धारणा निर्माण गर्ने र आगामी निर्वाचनको रणनीतिका बारेमा समेत गम्भीर विमर्श गर्ने बताइएको छ।
आयोजकले इप्पानका सम्पूर्ण सदस्य, ऊर्जा उद्यमी र सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई आफ्ना सुझाव र धारणा राख्न अनुरोध गरेको छ। संस्थाभित्र देखिएका व्यवस्थापकीय चुनौती चिर्दै ऊर्जा क्षेत्रको समग्र विकासका लागि इप्पानलाई एकताबद्ध बनाएर लैजानु नै यस भेलाको मुख्य ध्येय रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ