मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकको निक्षेप ८० खर्ब नाघ्यो, आज राष्ट्र बैंकले ३० अर्ब नगद उठाउँदै

shilapatra.com · Wed Jun 03 06:25:13 GMT 2026

बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिँदा लगानीको सकस थप चर्किएको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १२ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ ।

मे २७ सम्मको पछिल्लो तथ्यांक हेर्दा बैंकहरूको निक्षेपको आकार ८० खर्ब १४ अर्बमाथि पुगेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने, ५८ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।

समीक्षा अवधिमा बैंकहरूमार्फत ७२.९४ प्रतिशत मात्र कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सिडी रेसियो कामय गर्न पाउँछन् । तर, बजारमा खासगरी निजीक्षेत्रबाट कर्जाको मागनै नहुँदा बैंकहरूमाथि लगानीको चाप पर्न गएको हो । जसका कारण तरलता व्यवस्थापनको दबाब केन्द्रीय बैंकमा परेको छ ।

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट निरन्तर बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ । यसैको निरन्तरता केन्द्रीय बैंकले बुधबार थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ३० अर्बको निक्षेप संकलन अधिकतम ५६ दिनका लागि हुनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३

१२:१०

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)