मधेसमा ४० डिग्रीभन्दा माथि तापक्रम: 'लु' को महामारी फैलन सक्ने चेतावनी, जनजीवन कष्टकर
hamrakura.com · Wed Jun 03 00:00:00 GMT 2026
काठमाडौँ । दैनिक रूपमा तापक्रम वृद्धि भएसँगै मधेस प्रदेशको जनजीवन नराम्ररी प्रभावित भएको छ। मधेसका अधिकांश स्थानमा विगत एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढेको छ। गर्मी अत्यधिक बढेकाले 'लु' अर्थात् तातो हावाको महामारी फैलिन सक्ने भन्दै जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सर्वसाधारणलाई सचेत गराएको छ। 'लु' का कारण अत्यधिक थकान हुने, कमजोरी महसुस हुने, धेरै तिर्खा लाग्ने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य जोखिमहरू निम्तिन सक्छन्।
प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा। दिग्विजय ठाकुरले 'लु' बाट बच्नका लागि विभिन्न सुझावहरू दिएका छन्। उनले गर्मीबाट जोगिन घरभित्र वा चिसो ठाउँमा बस्न, विना काम घाममा हिँडडुल नगर्न, हलुका तथा सुतीका लुगा लगाउन र घर बाहिर निस्कनै परेमा कपडा वा अरू कुराले टाउको राम्ररी छोप्न आग्रह गरे। साथै शरीरमा पानीको कमी भएमा डिहाइड्रेसन अर्थात् जलवियोजनको समस्या आउने र शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन नसकी एलर्जीको समस्या हुन सक्ने भएकाले पर्याप्त मात्रामा पानी र झोल पदार्थ पिउनु आवश्यक रहेको उनले बताए। डा। ठाकुरले तिर्खा नलागे पनि दिनमा कम्तीमा आठ गिलास पानी पिउन सल्लाह दिँदै पानीको सट्टा बियर, कफी, सोडा जस्ता पेय पदार्थ पिउनु शरीरका लागि झनै हानिकारक हुने स्पष्ट पारे।
मधेसमा छाएको उखरमाउलो गर्मीका कारण विगत केही दिनदेखि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूको जीवन निकै कष्टकर बनेको छ। सहरी क्षेत्रहरूमा दिउँसोको समयमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ भने सर्वसाधारणले दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको बताएका छन्।
जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको जानकारी दिए। नेपालमा सामान्यतया जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानिने भए पनि अहिले जेठ महिना सकिन लाग्दासमेत देशका विभिन्न भागमा उखरमाउलो गर्मी कायम रहेकाले सबैलाई सतर्क र सचेत रहन उनले विशेष आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)