मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थीमा देखियो बर्बराउने र लड्ने अनौठो समस्या : बोका काटेर पूजा गर्दा पनि रोकिएन, विद्यालय नै बन्द

nagariknews.nagariknetwork.com · Wed Jun 03 06:58:39 GMT 2026

विद्यार्थीहरूमा बर्बराउने, काम्ने, लड्ने जस्ता अनौठो प्रकृतिको समस्या देखिएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित बालकल्याण मावि सुरुम्खिम तीन दिनका लागि बिदा गरिएको छ।

विद्यालयका प्रधानाध्यापक यज्ञ पौडेलका अनुसार अनौठो प्रकृतिको समस्या एकपछि अर्को विद्यार्थीमा बढ्दै गएपछि पालिकाको शिक्षा शाखासँगको समन्वयमा बुधबार, बिहीबार र शुक्रबारका लागि विद्यालय बन्द गरिएको हो। पौडेलले स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरूको टोली आई परीक्षण गरेपनि बर्बराउने काम्ने, लड्ने जस्ता समस्या एकपछि अर्को विद्यार्थीमा बढ्दै गएपछि विद्यालय बन्द गरिएको जानकारी दिए।

‘जो बर्बराउन थाल्छ, उसले नजिकै रहेको अर्को विद्यार्थीलाई आँखा टेढो बनाएर हेरेको जस्तो देखिन्छ, अनि अर्को विद्यार्थी पनि बर्बराउने लड्ने जस्ता समस्या देखिन्छ’ पौडेलले भने। समस्या देखा पर्न थालेपछि आफूहरू पालिकाको शिक्षा शाखामा खबर गरेको र शिक्षा शाखाबाट पुगेकाहरूले समेत विद्यार्थीमा देखिएको अनौठो समस्या अरूमा देखा नपरोस् भन्ने हिसाबबाट विद्यालय बन्द गरी समस्या समाधानतर्फ लाग्न गरेको आग्रह अनुसार विद्यालय बन्द गरिएको पौडेलले बताए।

प्रदेश सरकारमार्फत प्राप्त योजनाको बोलपत्रद्वारा परेको ठेक्का अनुसार विद्यालयमा क्यान्टिन बनाउनका लागि नजिकै रहेको दुधिलो र अर्को पात्लेको रुख रहेकोमा उक्त रुख काटेदेखि ‘एकजना विद्यार्थी मन्दिरको थान किन बिगारिस्, दुध आउने रुख किन काटिस् जस्ता वाक्य बोलेर बर्बराउन र लड्न गर्न थाले, हामीले गर्मीको समस्या हो की भनेर शान्त कोठामा पुर्‍यायौँ, तर समस्या समाधान भएन, बरु अर्को विद्यार्थी समेत यसरी नै बर्बराउने र लड्ने गर्न थाले’ पौडेलले भने।

उनले धार्मिक विश्वासलाई समेत आधार मानेर आफूहरूले रुख कटान भएको क्षेत्रमा बोका काटी पाठपूजा समेत गरेको, धुपबात्ती समेत बालेको स्मरण गर्दै यस्तो समस्या एकपछि अर्को विद्यार्थीमा देखिएपछि विद्यालय बन्द नै गर्नु परेको बताए।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)