अग्निपीडितको पीडा : पाइएन दुई वर्षसम्म किस्ता
gorkhapatraonline.com · Sat Sep 19 04:29:17 GMT 2026

गुल्मीका अग्निपीडित दुई वर्ष बित्दा पनि किस्ताको रकम पाउन सकेका छैनन् । जिल्लाका विभिन्न स्थानमा आगलागीबाट ठुलो क्षति भएका परिवारले घर निर्माणका लागि पाउनुपर्ने रकम पाएका छैनन् । २०८१ वैशाख ८ गते सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले इस्मा गाउँपालिकामा मात्रै ४२ घर जलेर नष्ट भएका थिए । इस्मा गाउँपालिका–२, हस्तीचौर सिदुङ्खामा २६ घरगोठ जलेर नष्ट भएका थिए । सोही दिन इस्मा गाउँपालिका–४, दोहली कोटकोटरीमा १८ घरगोठ जलेका थिए । आगलागीका कारण घरगोठ, पशुचौपाया र धनसम्पत्तिसहित ठुलो क्षति बेहोरेका पीडित परिवार सरकारले समयमै घर निर्माणको किस्ता नदिँदा ऋणले थला पर्ने अवस्था आएको छ ।
इस्मा गाउँपालिका–२, हस्तीचौरकी अग्निपीडित मीना रायमाझीले आगलागीबाट घरगोठ तथा सम्पत्ति गुमाएको पीडामाथि सरकारले घर निर्माणका नाममा ऋण थोपरेर अझै सास्ती दिएको गुनासो गर्नुभयो । रायमाझीका अनुसार तिनै तहका सरकारको साझेदारीमा तीन किस्तामा घर निर्माणको रकम पाउने सम्झौता भए पनि अहिलेसम्म स्थानीय सरकारबाहेकले रकम नदिएकाले ऋण काढ्न पीडित परिवार बाध्य छन् । उहाँले भन्नुभयो, “दुई वर्षसम्म किस्ताको रकम आएन, गाउँमा निकालेको ऋणका कारण घरमा बस्ने अवस्था छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)