मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगर यातायातले थप १६ विद्युतीय बस सञ्चालनमा ल्यायो

ajakoartha.com · Wed Jun 03 10:05:00 GMT 2026

काठमाडौं- महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार ३३ सिट क्षमताका यी बसहरूमा उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने व्यवस्था गरिएको छ। एक पटकमा करिब ७० यात्रु बोक्न सक्ने क्षमता भएका बसहरूमा आरामदायी सिट, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा सुविधासम्पन्न संरचना समावेश गरिएको छ।

शशिला मोटर्स प्रा.लि. ले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जमा यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ। प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रा.लि.का सचिव केशव नेपालले विद्युतीय सवारी साधन अब अनिवार्य विकल्प बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको बताए। उनले विद्युतीय बस व्यवसायीक रूपमा पनि उपयुक्त देखिएको भन्दै अन्य व्यवसायीलाई पनि यसतर्फ आकर्षित हुन सुझाव दिए। उनले ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको करका कारण विद्युतीय सवारी सञ्चालन प्रभावित भएको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे।

त्यसैगरी, सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सञ्चालनमा आइसकेको र थप विस्तार गरिएको जानकारी दिए। उनका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम र आम्दानी उच्च भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको छ।

शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्युतीय बसहरूको प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताए। उनले बिक्रीपछिको सेवा प्रणालीलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै व्यवसायी र यात्रु दुवैका लागि यो महत्वपूर्ण हुने धारणा राखे।

महानगर यातायात प्रा.लि.ले हाल काठमाडौं उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिँदै आएको छ। कम्पनीले २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय