अमेरिकाद्वारा भारतसहित ६० देशका सामानमा अतिरिक्त कर लगाउने प्रस्ताव
baahrakhari.com · Wed Jun 03 11:30:16 GMT 2026

काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले भारतसहित ६० वटा अर्थतन्त्रबाट आयात हुने सामानहरूमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने प्रस्ताव गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार बाध्यकारी श्रमबाट उत्पादित सामानहरूको व्यापार नियन्त्रण गर्न यी देशहरू असफल भएको आरोप लगाउँदै अमेरिकाले उक्त अतिरिक्त ट्यारिफ प्रस्ताव अघि सारेको हो ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा क्यानडा, मेक्सिको, ताइवान, बेलायत, युरोपेली संघ (ईयू), इन्डोनेसिया, मलेसिया र पाकिस्तानलगायतका देशका वस्तुहरूमा १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइने उल्लेख गरिएको छ ।
अर्कोतर्फ, भारत, चीन, जापान, दक्षिण कोरिया, ब्राजिल, स्विट्जरल्यान्ड तथा अन्य दर्जनौँ देशका वस्तुहरूमा १२.५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइने बताइएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिले भने, “हाम्रा सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदारहरूले जबरजस्ती श्रमबाट उत्पादित वस्तुहरूकोआयात रोक्न नसक्नु अस्वीकार्य छ । यसले यस्तो अवस्था सिर्जना गर्छ, जहाँ अमेरिकी श्रमिकहरू असमान प्रतिस्पर्धाको सामना गर्न बाध्य हुन्छन् ।”
यो नयाँ ट्यारिफ प्रस्तावले अमेरिकाका व्यापारिक साझेदारहरूलाई अर्को ठुलो झट्का दिएको बताइएको छ । यो प्रस्ताव यस्तो समयमा आएको हो, जब अमेरिका र भारतबीच व्यापार सम्झौतामा पुग्न वार्ता जारी छ ।
अर्कोतर्फ, युरोपेली संघले पनि गत महिना अमेरिकासँग भएको ट्यारिफ सम्झौताप्रति आफ्नो स्वीकृति जनाइसकेको छ ।
#अमेरिका
#ट्यारिफ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)