‘राहत होइन बसोबास चाहियो’ : कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले बैंक खाता खोल्न अस्वीकार
kalakarmi.com · Thu Jun 04 11:37:21 GMT 2026

काठमाडौं- कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूले सरकारले घोषणा गरेको राहत रकम प्राप्त गर्न बैंक खाता खोल्न अस्वीकार गरेका छन्।
सरकारले प्रभावित परिवारलाई तत्काल २५ हजार रुपैयाँ र पछि थप १५ हजार रुपैयाँ उपलब्ध गराउने योजना सार्वजनिक गरेपछि त्यसका लागि बैंक खाता खोल्न आग्रह गरिएको थियो। तर सुकुमवासीहरूले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।
कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार बुधवार प्रभु बैंकको टोली सरकारको तर्फबाट भन्दै खाता खोल्न आवश्यक प्रक्रिया अघि बढाउन त्यहाँ पुगेको थियो। बैंकका कर्मचारीले आवश्यक कागजात उपलब्ध गराए आफूहरूले फाराम भर्ने र खाता खोल्ने प्रक्रिया पूरा गरिदिने बताएका थिए।
‘प्रभु बैंकका कर्मचारीले सरकारको तर्फबाट आएको भन्दै कागजात दिन आग्रह गर्नुभयो। हामी आफैं फाराम भरिदिन्छौं भन्नुभयो,’ माझीले भने, ‘तर हामी सबैले खाता खोल्न अस्वीकार गर्यौं।’
सरकारले राहतको नाममा आफूहरूलाई अल्झाउन खोजेको भन्दै उनीहरूले खाता नखोलेको माझीको भनाइ छ। उनका अनुसार सुकुमवासीहरूको मुख्य माग दीर्घकालीन व्यवस्थापन र स्थायी बसोबासको सुनिश्चितता हो।
काठमाडौं महानगर प्रहरी प्रमुख विष्णु जोशीले पनि सुकुमवासीहरूले बैंक खाता खोल्न नमानेको पुष्टि गरे। उनका अनुसार खाता खोल्न पुगेका बैंकका कर्मचारीलाई आवश्यक सहयोग नदिइएको र सरकारले समस्या समाधानभन्दा पनि अस्थायी उपायमार्फत विषयलाई टार्न खोजेको भन्दै सुकुमवासीहरूले असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ