जनताको कामभन्दा सत्ता टिकाउने ध्याउन्न
annapurnapost.com · Wed Dec 27 00:56:44 GMT 2023
कोशी प्रदेशमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेको झन्डै अढाई महिना पुगेको छ। यसबीच उहाँ जनताका कामभन्दा सरकार विस्तार, योजना शिलान्यास र रिबन काट्न व्यस्त देखिएका छन्। सरकार गठन भएको सय दिन पूरा नभएकाले समग्र मूल्यांकन गर्ने समय नभए पनि अहिलेसम्मको गतिविधि हेर्दा शून्यता छ। यो समय योजनाका काम कार्यान्वयन गर्ने चरण हो। तर, त्यसतर्फ चासो दिएको पाइँदैन। यो पिक आवरमा धमाधम काम अघि बढ्नुपर्ने हो। दुर्भाग्य अहिलेसम्म मन्त्रालय खाली छन्। विभागीय मन्त्रीको टुंगो लाग्न सकेको छैन। अनि कसरी काम अघि बढ्छ ?
अर्कोतर्फ प्रदेशसभाले बिजनेस पाएको छैन। बजनेस नै नपाएपछि त्यतिका सांसदको भूमिका के हो ? संघीय र स्थानीय सरकारसँग जोडिने महत्त्वपूर्ण कैयन ऐन, नियम बनेका छैनन्। जसकारण काम गर्न जटिलता पैदा भएको छ। त्यसतर्फ सरकार केन्द्रित छैन। ढुंगा, गिटी, बालुवाजस्ता नदीजन्य सामग्रीसम्बन्धी ऐन नियम नबन्दा जनताले सास्ती खेप्नुपरेको छ। ५–६ वर्षअघि बनेका ऐन, कानुन कति प्रभावकारी भए ? पुनरावलोकन गरी जटिलता भए संशोधन गर्नुपर्ने हो। कैयौं बेरुजु फस्र्योट गर्नुपर्ने हो। त्यसतर्फ कुनै पनि मन्त्रालय संवेदनशील भएका छैनन्। त्यसकारण पनि सरकारको उचाइ बढ्नुको साटो घटेको छ। यी समग्र परिवेश हेर्दा सरकारको विकल्प सोच्नुपर्छ कि भन्ने समय आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)