प्रियांकाको प्रश्न : चलचित्र प्रमोसनमा सधैँ कलाकारलाई किन अगाडी राख्ने ?
nagariknews.nagariknetwork.com · Wed Jun 03 07:22:46 GMT 2026

चलचित्र ‘आइएम जीत बहादुर’ प्रदर्शनको तयारीमा छ। प्रदर्शनको मुखमै चलचित्रका मुख्य कलाकार जितु नेपाल, प्रियांका कार्की र वर्षा राउत प्रमोसनमा जुटेका छन्। कलाकारहरू प्रायः कार्यक्रम तथा अन्तर्वार्ता तिरै व्यस्त छन्।
त्यहीबिच अभिनेत्री प्रियांकाले गुनासो तथा आफ्नो अनुभव सेयर गरेकी छन्। उनले चलचित्र प्रदर्शन नजिकिँदै जाँदा कलाकारलाई अन्तर्वार्ता र प्रचार–प्रसारमा भ्याइ नभ्याइ हुने गरेको गुनासो गरिन्।
उनले भनिन्, ‘चलचित्र साइन गर्दा प्रायः प्रमोसनमा धेरै हिडेनु पर्दैन, दुई दिन मात्रै यसो हिडे भयो भनेर सुरुमा भनिन्छ। तर पछि चलचित्र प्रदर्शन नजिकिँदै जाँदा कलाकारलाई लगातार कार्यक्रममा, अन्तर्वार्तामा र प्रचार–प्रसारमा दौडिनुपर्छ।’
निर्मातालाई प्रश्न उठाउँदै उनी थप भन्छिन्, ‘यदि कलाकारको समय ऊर्जा उपस्थितिलाई प्रमोसनका लागि प्रयोग गरिन्छ, भने त्यसको छुट्टै पारिश्रमिक किन नहुने ?’
‘कति पटक कुनै प्रोजेक्टले भनेको जस्तो पेमेन्ट गरेको हुँदैन। त्यसमा अवस्था फरक हुन्छ, तर पनि हिँड्नुपर्छ। तर यो मान्छे हिँडेन र मेरो चलचित्र चलेन त्यो हुँदैन,’ उनी भन्छिन्।
उनको यो भनाइले चलचित्र प्रमोसन प्रणाली, कलाकारको समयको मूल्य र सम्झौतामा पारदर्शिताबारे फेरि एक पटक बहस सुरु गरिदिएको छ।
चलचित्र ‘आइएम जीत बहादुर’ असार ५ देखी प्रदर्शनमा आउने तयारीमा छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)