मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आइएइएको प्रतिवेदनलाई ‘राजनीतिक दबाबको औजार’ नबनाउन इरानको चेतावनी

lokaantar.com

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को हालैको प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ का रूपमा प्रयोग गरिएको भन्दै आलोचना गरेको छ।

इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै आईएईएले प्राविधिक प्रतिवेदनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नु उचित नहुने बताएका छन्। उनले एजेन्सीले कूटनीतिक समाधानको पक्षमा भूमिका खेल्न चाहेको भए प्राविधिक विषयलाई राजनीतिक दबाबको औजार बनाउनबाट टाढा रहनुपर्ने उल्लेख गरेका छन्।

एएफपीले प्राप्त गरेको एक गोप्य प्रतिवेदनमा आईएईएले इरानका केही आणविक स्थलमा पर्याप्त पहुँच नपाएको र त्यसले हतियार विकाससम्बन्धी चिन्ता बढाएको जनाएको थियो। एजेन्सीले इरानका आणविक केन्द्र तथा युरेनियम भण्डारणस्थलमा भएको सैन्य आक्रमणले जटिल अवस्था सिर्जना गरेको स्वीकार गर्दै पनि त्यहाँ ढिलाइ नगरी प्रमाणीकरण तथा निरीक्षण गतिविधि सञ्चालन गर्न आवश्यक रहेको बताएको छ।

इरानले भने आफूले आणविक कार्यक्रमबारे अमेरिकासँग छलफल गरिरहेका बेला अमेरिका र इजरायलले तेहरानमाथि आक्रमण गरेको दाबी गरेको छ। सन् २०२५ जुनमा पनि वाशिङ्गटन र तेहरानबीच आणविक वार्ता जारी रहेकै अवस्थामा इजरायलले आक्रमण गरेको र पछि अमेरिका पनि त्यसमा संलग्न भएको इरानको भनाइ छ।

दुवै द्वन्द्वका क्रममा इरानका आणविक केन्द्रहरूमा पटक–पटक बमबारी भएको थियो। इरानले आईएईएले ती आक्रमणको खुलेर निन्दा नगरेको आरोपसमेत लगाएको छ।

घरिबाबादीले इजरायल–अमेरिकी आक्रमणलाई इरानको सार्वभौमिकतामाथिको उल्लङ्घन मात्र नभई आणविक सुरक्षामाथिको प्रत्यक्ष प्रहारका रूपमा चित्रण गरेका छन्। उनले सुरक्षित आणविक संरचनामा आक्रमण गरेर निरीक्षणका लागि आवश्यक पूर्वाधार नष्ट गर्ने र त्यसकै परिणामलाई इरानविरुद्धको आरोपका रूपमा प्रयोग गर्न नमिल्ने बताएका छन्।

पश्चिमा देशहरू तथा केही विशेषज्ञहरूले इरान परमाणु हतियार क्षमतातर्फ उन्मुख रहेको दाबी गर्दै आएका छन्। तर तेहरानले आफूले आणविक हतियार विकास गर्न खोजेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ।

सन् २०२५ जुनमा अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा बमबारी गरेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम ‘नष्ट’ गर्न सफल भएको दाबी गरेका थिए। यद्यपि ती आक्रमणबाट भएको वास्तविक क्षतिको परिमाण अझै स्पष्ट हुन सकेको छैन।

इरानले सुरक्षा कारण देखाउँदै युरेनियम भण्डारणस्थलमा पहुँच दिन कठिनाइ रहेको बताउँदै आएको छ। अमेरिकी आक्रमणअघि आईएईएको तथ्याङ्कअनुसार इरानसँग करिब ४४० किलोग्राम उच्च संवर्धित युरेनियम रहेको अनुमान गरिएको थियो। आईएईए निरीक्षकहरूले उक्त भण्डार अन्तिम पटक सन् २०२५ जुन १० मा अवलोकन गरेका थिए। त्यसयता उक्त सामग्रीको अवस्था र स्थानबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय