मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत् व्यापारले जगाएको आशा

gorkhapatraonline.com · Fri Jul 08 00:31:58 GMT 2022

नेपाल जलविद्युत्को प्रचुर सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक धरातल र बाह्रै महिना बग्ने नदीनालाबाट करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको अनुमान गरिएको छ । योमध्ये करिब ४० हजार मेगावाट आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता रहेको उल्लेख छ । सम्भावनाका आँकडा धेरै देखिए पनि विद्युत्को अभावले केही समय पहिलेसम्म नेपालीले लोडसेडिङको मारमा दैनिकी गुजार्नुपरेको थियो तर अहिले अवस्था फेरिएको छ । देशमा लोडसेडिङ मात्र अन्त्य भएको छैन, बचत भएको विद्युत् अन्य मुलुकमा समेत निर्यात गर्न सुरुवात भएको छ । छिमेकी मुलुक भारतसँगको विद्युत् व्यापारबाट देशले आयआर्जन गर्न थालिसकेको छ ।

नेपालले गत वर्ष कात्तिक १७ मा पहिलो पटक भारतको इन्डियन इनर्जी एक्स्चेन्ज (आईईएक्स)लाई विद्युत् बेच्ने अनुमति पाएको थियो । आईईएक्समा विद्युत् बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट विद्युत् गत वर्ष नै भारत जान थालिसकेको थियो । विगतमा दुईवटा विद्युत्् गृहको मात्र बिक्री गरिँदै आएकोमा गत फागुन दोस्रो साता काठमाडौँमा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बैठकपछि भारत नेपालबाट थप विद्युत् लैजान सहमत भएको थियो । यसपछि गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र जारी भएलगत्तै विद्युत् प्राधिकरणले थप ४ जलविद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । सहमतिमा जसअनुसार नेपालले १४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५२ मेगावाटको लिखु–४ सहित कुल ६ वटा आयोजनाबाट ३६४ मेगावाट विद्युत् भारतले किन्न सक्ने उल्लेख गरिएको छ । यसैको निरन्तरता स्वरूप यो वर्षको सुरुवातदेखि नै नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारतीय बजारमा बिक्री सुरु गरेको छ । यसैअनुरूप गएको जुन महिनामा मात्र १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)