मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
ratopati.com · Thu Jun 04 11:44:37 GMT 2026

झापा। विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष (सेफ स्पेस)’ स्थापना गरेको छ।
नगरमा गत वर्षदेखि गुरुयोजनाको रुपमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना लागू भएको छ । जसको एउटा एकाइको रुपमा ‘सुरक्षित कक्ष’ सञ्चालनमा ल्याइएको नगरपालिकाका महिला, वालवालिका तथा सामाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले बताए।
मेचीनगरको वडा नम्बर ८ र १५ मा ‘सुरक्षित कक्ष’ स्थापना गरिएको र नगरभित्र हिंसामा परेका नागरिकले त्यहाँ आएर सेवा लिन सक्ने उनले जानकारी दिए।
‘सुरक्षित कक्ष’ मा हिंसामा परेका खासगरी बालबालिका, किशोरी र महिलाले सुरक्षित आश्रय र मनोपरामर्श प्राप्त गर्नेछन् । जोखिममा रहेका पीडितलाई सुरक्षाका लागि प्रहरी, न्यायका लागि अदालत र उपचारका लागि स्वास्थ्य निकायसम्म पुर्याउन त्यहाँका कर्मचारीले सहयोग पुर्याउने उनले बताए।
हरेक ‘सुरक्षित कक्ष’ मा हिंसापीडितलाई तत्काल चाहिने सहयोग प्रदान गर्नका लागि एक जना केस मेनेजर, मनोपरामर्शदाता र केस वर्करको नियुक्ति गरिएको छ। समस्यामा परेका बालवालिका तथा किशोरीको पहिचान गरी उनीहरुलाई पहिलो सेवा दिने काम नै केस वर्करको भएको मेचीनगर–८ स्थित ‘सुरक्षित कक्ष’ की केस वर्कर शान्ति मेहराले बताए।
कोशी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना झापामा हुने गरेको प्रहरीको अध्ययनले जनाएको छ । त्यही कारण झापामा हिंसा नियन्त्रण गर्न परियोजना लागू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)