मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल र भारतबीचको सहकार्य अब एआई र सूचना प्रविधि क्षेत्रमा पनि: जयशंकर

nagariknews.nagariknetwork.com · Sat Jun 06 14:26:14 GMT 2026

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीचको सहकार्य अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधिको क्षेत्रमा पनि विस्तार हुने बताएका छन्।

नयाँ दिल्लीमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

विदेशमन्त्री जयशंकरले दुई देशबीचको सम्बन्धको दायरा परम्परागत क्षेत्रभन्दा अझ माथि उठ्ने उल्लेख गरे।

‘नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै सीमित नरही अब अझ अघि बढ्नेछ,’ स्वागत मन्तव्यका क्रममा उनले भने, ‘अब हामी एआई, सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा समेत आपसी सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’

सो क्रममा उनले नेपाल र भारतको राजनीतिक सम्बन्ध थप सुदृढ बन्दै गएको समेत उल्लेख गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालसालै भएको भारत भ्रमणको चर्चा गर्दै विदेशमन्त्री जयशंकरले भने, ‘रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल र भारतको आपसी हितका लागि सदैव सहकार्य गर्न तत्पर रहेको विदेशमन्त्री जयशंकरले जानकारी दिए। यसअघि मौरिससमा पनि मन्त्री खनालसँग फलदायी संवाद भएको स्मरण गर्दै उनले नयाँ दिल्लीमा नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)